२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

एकैदिनको पानीले नेपालगञ्ज जलमग्न



नेपालगञ्ज : लामो समयको खडेरीपछि मंगलबार बिहानैदेखिको निरन्तर वर्षातका कारण बाँकेको नेपालगञ्ज, खजुरा, कोहलपुरलगायतका अधिकांश स्थान जलमग्न भएका छन् ।

ढल तथा नालाहरूको नियमित सरसफाइ गरिए पनि स्थानीयले आफनो घरमा उत्पादन भएको फोहोर नालामै फालिदिनाले नाला भरिएर पानीको निकास बन्द भएपछि पहिलो वर्षामै नगर जलमग्न भएको हो ।

मङ्गलबार बिहान करिब ५ बजेदेखि सुरु भएको वर्षा दिउँसोसम्म निरन्तर भइरहेकाले नेपालगञ्जको मुक्तिपुर, कारकाँदो घरबारी टोल, न्युरोडको सेतु विक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बेलासपुर, कोरियनपुर र भृकुटीनगरका अधिकांश क्षेत्रमा पानी भरिएर ती क्षेत्र जलमग्न भएका छन् ।

नगरका अधिकांश भागमा नालाहरू निर्माण गरेर ढल निकासको व्यवस्था गरिए पनि ती नालाको नियमित सरसफाइ नगरिँदा नाला थुनिएपछि नगरमा पानी जमेको नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

नगरका अधिकांश ठाउँमा पानी भरिएर जलमग्न भएपछि स्थानीय बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ । नाला र ढल निर्माण गरिए पनि सरसफाइमा ध्यान नदिएकाले नै हरेक वर्ष सानो वर्षामा पनि डुबानको समस्या आउने गरेको छ ।

मंगलबार परेको पानीका कारण जिल्लमा कुनै मानविय तथा अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले जानकारी दिए ।

यसैबीच थुनिएका नालको पानी निकासका लागि नेपालगञ्ज उपमहानगरले जेसिभि र अन्य उपकरण सहितको जनशक्ति परिचालन गर्नुको साथै तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार
ताजा समाचार