समाचार सारांश
- बाँके प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
- नेपालगञ्जबाट नरैनापुरतर्फ जाँदै गरेका उनीहरूलाई अवैध भारतीय नोटसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- प्रहरीले नेपालगञ्जका विभिन्न स्थानबाट करिब ३ लाख ४६ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान पनि बरामद गरेको छ ।

नेपालगञ्ज : बाँके प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय रूपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
बाँकेको नरैनापुर गाउँपालिकातर्फ अटो रिक्सामा जादैगरेका उनरुहरुलाई विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिका–२ एकलैनीबाट नरैनापुर गाउँपालिका–५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका–४ बस्ने ३८ वर्षी मुनिव खाँलाई पक्राउ गरिएको उनले बताए ।

सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
त्यसैगरी प्रहरीले नेपालगञ्जमा करिब रु तीन लाख ४६ हजार बराबरको भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको छ ।
नेपालगञ्जको वडा नं ३, १० र १७ बाट प्रहरीले भन्सार छली गरेर ल्याएको चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरा ल्याउने यूपी ४० एस २०७८, भे२प ७५७८, भे९प ७०६४ नं को मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । बरामद गरिएका सबैसामान भन्सार कार्यालय, नेपालगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ


