समाचार सारांश
- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्जमा हाल २२ हजार क्विन्टल चामल र ९ हजार ८ सय क्विन्टल धान मौज्दात रहेको छ।
- चामलको मूल्य प्रति क्विन्टल ५–६ सय रुपैयाँ घटेपछि माग बढेको छ र कर्णाली प्रदेशमा आपूर्ति पनि भइरहेको छ।
- नयाँ वर्षको अवसरमा अरुवा मोटो चामलमा प्रति क्विन्टल ५ सय छुट दिइएको कम्पनीले जनाएको छ।

नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयमा विभिन्न प्रकारका २२ हजार क्विन्टल चामल र ९ हजार ८ सय क्विन्टल धान स्टक रहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामसरण लामिछानेले खाद्य व्यवस्था कम्पनीको गोदाममा हाल स्टीम जिरा मसिनो ६ हजार, अरुवा मसिनो ५ हजार र अरुवा मोटो ११ गरेर २२ हजार क्विन्टल चामल स्टकमा रहेको बताए ।
उनले यसैवर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको अरुवा मोटो धान ४ हजार ८ सय क्विन्टल र अरुवा मसिनो धान ५ हजार क्विन्टल पनि स्टकमा रहेको जानकारी गराए ।
गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री गर्ने कार्यपनि भईरहेको र पश्चिम नेपालको कर्णाली प्रदेशका जिल्लाहरुबाट माग भइ आएमा पठाउने कार्य समेत गरिरहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
यसपटक चामलको मूल्य समायोजन भएर आउँदा प्रति क्विन्टल पाँच सय देखि छ सय रुपियाँसम्म मूल्य घटेर आएकोले पनि बजारमा खाद्यको चामलको माग बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख लामिछानेले बताए ।

उनले विगतका वर्षमा भन्दा बढी चामल मैजदात रहेको बताउदै राष्ट्रिय खाद्य सुरक्षा तथा सार्क खाद्य भण्डारणका लागि पनि न्यूनतम मैजदात राख्नु पर्ने भएकोले पनि अलि बढी स्टकमा रहेकको बताए ।
कर्णाली प्रदेशका जिल्लामा रहेका खाद्यका डिपोहरूमा अहिले पर्याप्त चामल रहेको र बहिरका व्यपारी भन्दा मूल्य महंगो भएको गुनासो आएपछि अरुवा मोटो चामलमा प्रति क्वीन्टल ५ सय छुट दिईएको प्रमुख लामिछानेले बताए ।
उनले खाद्य व्यवस्था कम्पनीको चामल गुणस्तरीय हुने र उपभोक्ताले विश्वास गर्ने गरिएकोले स्थानीय बजारसँग प्रतिष्पर्धा गर्न मूल्य समायोजन गरिएको भए पनि धान खरिदमै महंगोमा धान खरिद गरेकोले पनि खाद्यको चामल महंगो भएको गुनासो आएपछि नयाँ बर्षको अवसरमा कर्णालीको डिपोहरुबाट अरुवा मोटो चामलमा प्रति क्वीन्टल ५ सय छुट दिईएको स्पष्ट पारे ।
बाँकेमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । जिल्लाका धेरै किसानले कम्पनीमा बिक्रीका लागि धान लिएर आएपनि कोटा कम भएको जनाउँदै सबै धान खरिद नगरेपछि फिर्ता जानुपरेको थियो ।
यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरि मूल्य तोकेको थियो ।


