समाचार सारांश
- बाँकेमा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले अवैध रूपमा जडान गरिएका फोकस, फग र हेडलाइट हटाउने अभियान सञ्चालन गरेको छ।
- ६ सय ८५ सवारीबाट १,१७४ वटा अतिरिक्त लाइट हटाइएका छन्, जसलाई दुर्घटनाको प्रमुख कारण मानिएको छ।
- यस्तै, बसमा लगाइएका सजावट सामग्री पनि हटाएर दुर्घटना न्यूनीकरणको प्रयास गरिएको छ।

नेपालगञ्ज : बाँकेमा सवारी दुर्घटना बढ्दै गएपछि नियन्त्रणका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको छ । सोही क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अवैध रूपमा मोडिफाई गरिएका सवारी साधन नियन्त्रण तथा नियमन गर्ने अभियान सञ्चालन गरेको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार बाँकेमा ६ सय ८५ वटा सवारी साधनबाट दुर्घटनाको प्रमुख कारण मानिएका १ हजार १ सय ७४ वटा फोकस लाइट, फग लाइट र हेडलाइट हटाइएको छ ।
उनका अनुसार बाँकेमा बढ्दो सवारी दुर्घटनाका कारणबारे अध्ययन गर्दा धेरै दुर्घटनामा यिनै अतिरिक्त लाइटहरू जिम्मेवार देखिएपछि कारबाही अभियान सञ्चालन गरिएको हो ।
प्रहरी निरीक्षक शाहीले भने, ‘फोकस र फग लाइटका कारण विपरीत दिशाबाट आउने सवारीका चालकलाई बाटो स्पष्ट देखिँदैन र दुर्घटना हुने जोखिम बढ्छ । त्यसैले यस्ता लाइट हटाउने अभियान सञ्चालन गरेका हौँ । यसले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास छ ।’

उनका अनुसार यो अभियान जिल्लाभर सञ्चालन गरिएको छ । मोटरसाइकल, अटोरिक्सा, कार तथा ठुला सवारी साधनबाट अतिरिक्त फोकस, फग तथा शो लाइटहरू हटाइएको छ ।
प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि कम्पनीका लाइटहरूलाई परिमार्जन गरी जडान गरिएका अवैध लाइट हटाउने अभियान पनि जारी रहेको जनाएको छ ।
अभियानका क्रममा ट्राफिक प्रहरीले बसमा लगाइएका करिब दुई सय वटा फूल, झल्लर र माला पनि हटाएको छ । यस्ता सजावटका सामग्रीले चालकको दृश्य अवरुद्ध गरी दुर्घटनाको जोखिम बढाउने भएकाले हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यसैगरी, फोकस, फग लाइट तथा अवरोध सिर्जना गर्ने लाइट जडान गर्ने तारसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


