२०८३ कात्तिक १९ , बुधबार
Sadarline
२०८३ कात्तिक १९ , बुधबार

बालबालिका र युवालाई आफ्ना सवालमा आफैँ पैरवी गर्न सिकाउँदै सुरक्षित भविष्य परियोजना



गुलरिया, (बर्दिया) : प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रद्वारा बर्दियामा सञ्चालित सुरक्षित भविष्य परियोजनाले बालबालिका र युवालाई आफ्ना सवालमा आफैँ पैरवी गर्न सिकाउन थालेको छ ।

बालबालिका तथा युवाका सवालमा अरूले आवाज उठाइदिने परम्परालाई बदल्दै उनीहरूलाई आफ्ना अधिकारका लागि आफैँ पैरवी गर्न सक्षम बनाउने उद्देश्यले बर्दियामा नेतृत्व विकास तथा अभियान सञ्चालनसम्बन्धी तालिम आयोजना गरिएको छ ।

सुरक्षित भविष्य परियोजना अन्तर्गत कार्तिक १७ र १८ गते गुलरियामा दुईदिने तालिमसमेत सम्पन्न गरेको छ । तालिममा गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका २५ जना बालबालिका, किशोरकिशोरी तथा युवाको सहभागिता थियो ।

तालिममा सहभागीहरूलाई नेतृत्व क्षमता विकास, प्रभावकारी सञ्चार, अभियान सञ्चालन, पैरवी तथा वकालत र बालबालिकाको अर्थपूर्ण सहभागिताका विषयमा सहजीकरण गरिएको थियो । साथै, बालअधिकारसँग सम्बन्धित सवाल पहिचान गरी आफ्ना माग तथा सरोकारलाई समुदाय र नीतिगत तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने सीपमा जोड दिइएको थियो ।

सुरक्षित भविष्य परियोजनाका संयोजक गोविन्दप्रसाद लामिछानेले तालिमको उद्देश्य र नेतृत्व विकासको महत्त्वबारे प्रकाश पार्दै सहभागीलाई अभिमुखीकरण गरेका थिए । तालिमको सहजीकरण विनय दिल लामाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नग्मा सिद्दिकीले गरेकी थिईन ।

बालबालिका तथा युवालाई आफ्ना समस्या पहिचान गर्ने, समाधानका लागि सामूहिक पहल गर्ने र निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ । तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सहभागीहरूले समुदायमा बालअधिकारका सवाल उठाउने र सकारात्मक परिवर्तनका लागि नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बालबालिका र युवालाई निर्णय प्रक्रियामा सहभागी गराउनु मात्र पर्याप्त हुँदैन, उनीहरूका विचार र आवाजलाई सुनिने तथा सम्बोधन हुने वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ । यसका लागि नेतृत्व, पैरवी र अभियान सञ्चालनसम्बन्धी क्षमता विकासले उनीहरूलाई आफ्ना अधिकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार
ताजा समाचार