२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

जवाफदेही सुशासनका लागि युवा सशक्तिकरण : बर्दियामा युवा नागरिक स्कोर कार्ड सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु



मधुवन (बर्दिया) : सुरक्षित भविष्य परियोजना अन्तर्गत युवा नागरिक स्कोर कार्ड सम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण बर्दियाको मधुवनमा सुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित उक्त तालिममा बर्दियाका तीन स्थानीय तहका २१ जना युवा स्वयंसेवकसहित साझेदार संस्थाका प्रतिनिधिहरू गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।

तालिमको मुख्य उद्देश्य युवाहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै सार्वजनिक सेवा प्रवाहको अनुगमन तथा मूल्याङ्कन, नागरिक सहभागिता र समुदायस्तरमा सामाजिक जवाफदेहिता प्रवर्द्धन गर्नु हो । युवाहरूलाई सेवा प्रदायक निकाय तथा स्थानीय सरकारसँग रचनात्मक संवाद र सहकार्य गर्न सक्षम बनाउदै सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता अभिवृद्धि गर्नु यस पहलको प्रमुख लक्ष्य रहेको छ ।

तालिमको उद्घाटन सत्रमा सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले युवा नागरिक स्कोर कार्डको अवधारणा, महत्त्व तथा कार्यान्वयन प्रक्रियाबारे प्रकाश पारेका थिए । उनले यस पद्धतिले नागरिकलाई सार्वजनिक सेवाको गुणस्तर मूल्याङ्कन गर्न, सेवा प्रवाहमा रहेका कमिकमजोरी पहिचान गर्न तथा सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्‍याउने बताए ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका विशेषज्ञ झलकमान विश्वकर्माले सुरक्षित भविष्य परियोजनाका प्रमुख उद्देश्य तथा बालबालिका, किशोरकिशोरी र युवाहरूको अधिकार संरक्षण, बालविवाह तथा कम उमेरमा हुने र जबर्जस्ती गरिने विवाह न्यूनीकरण एवं गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि भइरहेका प्रयासहरू बारे  जानकारी गराए ।

हेन्डस नेपालका युवा सशक्तिकरण परियोजना संयोजक रोशन तिमिल्सिनाले सहजिकरण गरेको तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइएको छ । सहभागीहरूले तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सार्वजनिक सेवा गुणस्तर मूल्याङ्कन, सामुदायिक परामर्श, समूहगत छलफल, सार्वजनिक सेवासम्बन्धी मापदण्डको पहिचान तथा प्रमाणमा आधारित सुझाव तयार गर्ने सीप सिक्नेछन साथै, नागरिक र सेवा प्रदायकबीच रचनात्मक संवाद सहजीकरण गर्ने तथा पहिचान गरिएका समस्या समाधानका लागि कार्ययोजना निर्माण गर्ने विषयमा समेत अभ्यास गरिनेछ ।

यस पहलले युवाहरूलाई विकासका लाभग्राहीका रूपमा मात्र नभई सक्रिय नागरिक, परिवर्तनका संवाहक तथा जवाफदेही समाज निर्माणका साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । युवा नेतृत्व, नागरिक सहभागिता र प्रमाणमा आधारित पैरवीलाई सुदृढ गर्दै समुदायका वास्तविक आवश्यकता सम्बोधन गर्ने स्थानीय योजना, बजेट तथा कार्यक्रम निर्माण प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यस पद्धतिले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

तालिम सम्पन्न भएपछि युवा स्वयंसेवकहरूले सिकेका ज्ञान तथा सीपलाई आ–आफ्नो समुदायमा प्रयोग गर्दै सार्वजनिक सेवा प्रवाहको मूल्याङ्कन गर्ने, समस्या तथा चुनौतीहरू पहिचान गर्ने, सम्बन्धित निकायलाई प्रमाणमा आधारित सुझाव दिने र सेवा सुधारका लागि संवाद तथा सहकार्य सहजीकरण गर्ने अपेक्षा गरिएको छ । यसबाट नागरिक र स्थानीय सरकारबीचको सहकार्य सुदृढ हुनुका साथै सार्वजनिक सेवाको गुणस्तर सुधार, संस्थागत जवाफदेहिता र दिगो सामुदायिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ ।

सुरक्षित भविष्य परियोजना प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालन भइरहेको छ । स्थानीय सरकार, विद्यालय, समुदाय, युवा समूह तथा अन्य सरोकारवालासँगको सहकार्यमा परियोजनाले बालविवाह तथा कम उमेरमा हुने र जबर्जस्ती गरिने विवाह न्यूनीकरण, बाल संरक्षण सुदृढीकरण, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा किशोरकिशोरी र युवाहरूको सशक्तिकरणमार्फत सुरक्षित, समावेशी र जवाफदेही समुदाय निर्माणमा योगदान पुर्‍याउँदै आएको छ ।

सशक्त युवा, सचेत नागरिक र जवाफदेही संस्थाहरू दिगो विकास तथा दीर्घकालीन सामाजिक परिवर्तनका बलिया आधार हुन, युवाहरूको सक्रिय सहभागिता, नेतृत्व र सामूहिक प्रयासबाट मात्रै उत्तरदायी शासन प्रणाली र समुन्नत समाज निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ ।

 

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार
ताजा समाचार