
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन ।
उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका हुन ।
शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले विपद् व्यवस्थापनका कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार गर्नुपर्ने बताए ।
उनले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । विपद् व्यवस्थापनका योजना कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिँदै उनले योजनाको फरफारक गर्नुअघि जिल्ला समन्वय समिति र स्थानीय तहबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने र पुनर्निर्माणका कामलाई गति दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश तथा स्थानीय तहबाट उपलब्ध गराउनुपर्ने रकम तत्काल भुक्तानी गर्ने प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरे ।
प्रदेश सरकारले राहत वितरणसम्बन्धी कार्यविधिमा सुधार गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशबाहिर विपद्का कारण मृत्यु भएका प्रदेशवासीका परिवारलाई समेत राहत उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
भोटेकोसी बाढीका कारण प्रदेशका नागरिकको मृत्यु भएपछि कार्यविधि संशोधन गरी राहत सुनिश्चित गरिएको उनले स्पष्ट पारे । संघीय सरकारले राहत रकम उपलब्ध गराउनेबित्तिकै प्रदेश सरकारले प्रभावित परिवारलाई राहत वितरण गर्ने तयारी गरेको उल्लेख गर्दै उनले भने,‘संघीय सरकारले रकम हाल्नेबित्तिकै प्रदेश सरकारले रकम पठाउँछ । हामी तयारी अवस्थामा छौँ ।’








प्रतिक्रिया दिनुहोस्