२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

बर्दियाको मधुवनमा बालसंरक्षण र मानव बेचबिखन नियन्त्रणमा समुदायको सक्रियता बढाउँदै सुरक्षा परियोजना



मधुवन (बर्दिया) : प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको मधुवन नगरपालिकामा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत मधुवन नगरपालिका–७ का शुक्रबस्ती र गंगाबस्तीमा अनुगमन भ्रमण गरिएको छ ।

मानव बेचबिखन, लागुऔषध दुर्व्यसन तथा बालबालिकामाथि हुन सक्ने जोखिम न्यूनीकरणका लागि बर्दियाको मधुवन नगरपालिकामा समुदायस्तरमा सञ्चालित सचेतनामूलक कार्यक्रमको प्रभावबारे संयुक्त अनुगमन गरिएको छ ।

परियोजनाका गतिविधिले अभिभावक तथा समुदायको सोच, व्यवहार र सचेतनामा पारेको प्रभावको समीक्षा गर्नुका साथै आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा अभिभावक समूहसँग प्रत्यक्ष छलफल गरी मानव बेचबिखन, लागुऔषध दुर्व्यसन, बालसंरक्षण तथा बालबालिकाको सुरक्षासँग सम्बन्धित विषयमा समुदायको बुझाइ र अनुभवबारे जानकारी लिइएको थियो । अभिभावकहरूले जोखिमका घटना पहिचान गर्ने, सम्बन्धित निकायलाई जानकारी गराउने तथा आवश्यक सहयोग प्राप्त गर्ने प्रक्रियाबारे आफ्नो बुझाइमा सुधार आएको अनुभव सुनाएका थिए ।

उनीहरूले परियोजनाका गतिविधिले परिवार तथा समुदायमा बालबालिकाको सुरक्षा, संरक्षण र जोखिम न्यूनीकरणसम्बन्धी विषयमा छलफल गर्ने वातावरण बनेको बताएका थिए । साथै, समुदायमा देखिएका चुनौती समाधान गर्न सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र थप घरपरिवारसम्म यसको पहुँच विस्तार गर्नुपर्ने सुझाव दिएका थिए ।

अनुगमन टोलीमा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर प्रवक्ता मेकबहादुर गुरुङ, वडा नं. ७ का अध्यक्ष राजेन्द्र हमाल, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज गौतम, कार्यकारी निर्देशक रविकुमार तुलाधर, सल्लाहकार रुद्र सुवेदी, सदस्य शंकर सिंह थारू, परियोजना संयोजक ईश्वर बीके तथा फिल्ड सुपरभाइजर सबित्रा भाट सहभागी थिए ।

अनुगमनका क्रममा वडा नं. ७ का अध्यक्ष राजेन्द्र हमालले समुदायमा सचेतना अभिवृद्धि गर्न बाँके युनेस्को क्लब तथा सुरक्षा परियोजनाले पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले मानव बेचबिखन तथा अन्य सामाजिक जोखिमबाट समुदायलाई सुरक्षित राख्न परियोजनाका गतिविधिलाई निरन्तरता दिँदै थप घरपरिवारसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले मानव बेचबिखन तथा लागुऔषध दुर्व्यसन नियन्त्रण र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार, विकास साझेदार, अभिभावक र समुदायबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताए। उनले सुरक्षित समुदाय निर्माणका लागि सचेतनामूलक अभियानलाई निरन्तरता दिनुका साथै स्थानीय नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

नगर उपप्रमुख अनिता चौधरीले बालबालिकाको संरक्षण तथा हानिकारक सामाजिक अभ्यासको रोकथाममा अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताइन । उनले अभिभावकले बालबालिकासँग खुला संवाद गर्ने, उनीहरूको अवस्था र आवश्यकताप्रति सचेत रहने तथा कुनै जोखिम देखिएमा सम्बन्धित निकायसँग समन्वय गरी समयमै समाधान खोज्नुपर्ने धारणा व्यक्त गरिन ।

त्यसैगरी, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले बालबालिकामाथि हुन सक्ने शोषण, दुर्व्यवहार तथा अन्य जोखिम रोक्न समुदायस्तरमा निरन्तर सचेतना अभिवृद्धि गर्नुपर्ने बताइन । उनले संरक्षणसम्बन्धी घटनाको समयमै जानकारी गराउने व्यवस्था र सम्बन्धित सेवा प्रदायक निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले गरेका थिए । अनुगमनका क्रममा प्राप्त सुझाव तथा प्रतिक्रियाले परियोजनाका गतिविधिको प्रभावकारिता समीक्षा गर्न र आगामी कार्यक्रमका प्राथमिकता पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सुरक्षा परियोजनाले मानव बेचबिखन तथा लागुऔषध दुर्व्यसनको रोकथाम, बाल संरक्षणको सुदृढीकरण र समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । स्थानीय सरकार, अभिभावक, समुदाय तथा विकास साझेदारबीच सहकार्य विस्तार गर्दै बालबालिकाले सुरक्षित र संरक्षणयुक्त वातावरणमा हुर्कन पाउने अवस्था निर्माण गर्नु परियोजनाको प्रमुख लक्ष्य हो ।

मानव बेचबिखन तथा बालबालिकासम्बन्धी जोखिमको रोकथाम केवल सरकारी निकाय वा कुनै एक संस्थाको प्रयासबाट मात्र सम्भव नहुने भएकाले परिवार र समुदायको सक्रिय सहभागिता आवश्यक मानिन्छ। यस सन्दर्भमा मधुवनमा गरिएको संयुक्त अनुगमनले परियोजनाका गतिविधिको समीक्षा गर्नुका साथै बाल संरक्षण र सामाजिक जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने अवसर प्रदान गरेको छ ।

 

 

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार
ताजा समाचार