समाचार सारांश
- शनिबार बिहानदेखि परेको वर्षाका कारण नेपालगञ्जमा ईदको सामूहिक नमाज प्रभावित भई कम उपस्थितिमा भिजेरै नमाज पढिएको छ।
- ईदगाहमा नमाज प्रभावित भएपछि अन्य मस्जिदमा दिउँसो नमाज पढ्ने व्यवस्था गरिएको धर्मगुरुले बताएका छन्।
- देशभर ईदुल फित्र मनाइँदै गर्दा शुभकामना आदान–प्रदान, दान र मिठा परिकार बाँड्ने परम्परा कायम रहेको छ।

नेपालगञ्ज : शनिबार बिहानैदेखि भएको वर्षातका कारणले नेपालगञ्जमा मुस्लिम समुदायको महान पर्व ईदको नमाज प्रभावित भएको छ । रमजान सकिएर ईद मनाउन ईदगाहमा सामुहिक नमाजको लागि जम्मा भएकाहरुले भिजेरै ईदको नमाज पढेका छन् ।
ईदको अवसरमा नेपालगञ्ज क्षेत्रका मुस्लिम समुदायले स्थानीय विपी चोकमा रहेको ईदगाहमा पुगेर हरेक वर्ष सामुहिक रुपमा नमाज पढ्ने गर्छन् ।
यसपटकको ईदमा भने शनिबार बिहानैदेखि वर्षा भएकाले मुस्लिम समुदायको न्युन उपस्थितिमा सामुहिक रूपमा नमाज पढिएको हो ।
वर्षाले प्रभावित गरेपछि दिउँसो अन्य मस्जिदमा पनि सामुहिक नमाज पढ्ने ब्यवस्था मिलाइएको धर्मगुरुले बताएका छन । मुस्लिम समुदायले शनिबार देशभर विशेष नमाज पाठ गरी ईदुल फित्र पर्व मनाईरहेछन् ।
ईद पर्बमा आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन रहेको छ ।
खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुन्छ । यो पर्बको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु पनि हो ।

ईदको अवसरमा बाँके क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्य मो ईस्तियाक राईले शुभकामना ब्यक्त गर्दै समाजिक सद्भाव कायम गर्दै हर्षेाउल्लासका साथ ईद मनाउन अपील गरेका छन ।
यसअघि निक्कै भिडभाड रहने ईदगाह यो पटक ईदको नमाजको बेला भएको बर्षाले प्रभावित भएको थियो ।





