समाचार सारांश
- नेपालगञ्जमा जारी मेयर कप पुरुष क्रिकेट प्रतियोगितामा ब्राइटल्यान्ड माविले नेपालगञ्ज मोडेल एकेडेमीलाई ९८ रनले पराजित गरेको छ।
- ब्राइटल्यान्डका सुनिल भण्डारीले ५७ बलमा ११९ रनको शानदार शतक प्रहार गर्दै टोलीलाई २० ओभरमा २०५ रनको विशाल योगफल दिलाए।
- २०६ रनको लक्ष्य पछ्याएको मोडेल एकेडेमी १०७ रनमै समेटिँदा भण्डारी नै उत्कृष्ट खेलाडी घोषित भए।

नेपालगञ्ज : नेपालगञ्जमा जारी मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा ब्राइटल्यान्ड माविले ९८ रनले जित हसिल गरेको छ । एमपी स्कुल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राइटल्यान्डले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली जित हात पारेको हो ।
खेलमा टस जितेको नेपालगञ्ज मोडेल एकेडेमीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङमा उत्रिएको ब्राइटल्यान्ड माध्यमिक विद्यालयले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रनको ठूलो योगफल खडा ग¥यो । टोलीको विशाल स्कोर बनाउने क्रममा सुनिल भण्डारीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे ।
ब्राइटल्यान्डका प्रमुख ब्याट्सम्यान सुनिल भण्डारीले आक्रामक शैलीमा ब्याटिङ गर्दै ५७ बलमा ११९ रनको शानदार शतक प्रहार गरे । उनले आफ्नो इनिङ्समा १४ चौका र ६ छक्का प्रहार गर्दै मैदानमा उपस्थित दर्शकलाई रोमाञ्चक खेलको अनुभव दिलाए । उनको उत्कृष्ट इनिङ्स ब्राइटल्यान्डको जितको मुख्य आधार बन्यो ।
त्यसैगरी टोलीका लागि साजाद बागवानले ३७ बलमा ४२ रनको महत्वपूर्ण योगदान दिए । अन्य खेलाडीमध्ये युबराज शर्मा ५ रनमा आउट भए भने रोहन केसी रन बनाउन नसकी पेभिलियन फर्किए । गौतम कनौजियाले पनि रन जोड्न सकेनन् ।

अन्त्यतिर पार्टिक गिरिले १६ बलमा १७ रन बनाउँदै टोलीको स्कोर मजबुत बनाए भने प्रिन्स वाल्मिकी ४ बलमा २ रन बनाएर अविजित रहे । अतिरिक्तबाट पनि टोलीले २० रन प्राप्त गरेको थियो ।
बलिङतर्फ नेपालगञ्ज मोडेल एकेडेमीका राजु खानले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । अन्य बलरहरूले पनि विकेट लिए पनि ब्राइटल्यान्डका ब्याट्सम्यानलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् ।
२०६ रनको कठिन लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालगञ्ज मोडेल एकेडेमी को सुरुवात राम्रो हुन सकेन । नियमित अन्तरालमा विकेट गुमाएको टोली अन्ततः १४ ओभर १ बलमा १०७ रनमै समेटियो । टोलीका लागि अन्जिल घिसिङले सर्वाधिक ३५ रन बनाए। त्यस्तै पराश देवकोटाले २१ बलमा १६ रन बनाए भने शिवा केसीले ९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
ब्राइटल्यान्डका बलरहरूले सशक्त बलिङ गर्दै विपक्षी टोलीलाई दबाबमा राखे । बलिङतर्फ पार्टिक गिरिले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यस्तै निखिल धनकुटा र सुनिल भण्डारीले समान २–२ विकेट हात पारे । सुरेश बुढाथोकी र सुनील भण्डारीले पनि विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्दै महत्वपूर्ण योगदान दिए ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका सुनिल भण्डारी खेलको उत्कृष्ट खेलाडी घोषित भए ।


