समाचार सारांश
- बाँकेको कोहलपुरमा फागुन २८ देखि चैत २ गतेसम्म प्रथम कोहलपुर प्राइड लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।
- प्रतियोगितामा देशभरका ६ टिम सहभागी हुनेछन् र विजेता टिमले नगद ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
- कोहलपुर क्रिकेट रङ्गशालामा हुने प्रतियोगिता खेलकुद विकास र बाँकेको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने आयोजकले बताएका छन्।

नेपालगञ्ज : बाँकेको कोहलपुरमा बिहीबारदेखि प्रथम कोहलपुर प्राइड लिग (केपीएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक कोहलपुर स्पोर्टस् एकेडेमी कोहलपुरले बुधबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरि बिहीबारदेखि भोलीदेखि कोहलपुृरमा प्रथम केपीएल क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
प्रतियोगिताका डाइरेक्टर विनायक गिरीले पेय पदार्थ कम्पनी क्याम्पा कोलाको प्रबन्धमा प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिए । फागुन २८ गते बिहीबारदेखि चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा देशभरका ६ वटा क्रिकेट टिमले सहभागिता जनाउने बताए ।
उनका अनुसार ब्राइटल्याण्ड स्कुल नेपालगञ्ज, युनाइटेड भिजन क्रिकेट क्लब, एसपीए कलेज धनगढी, कोहलपुर स्पोर्टस् एकेडेमी, कोहलपुर, न्यू होराइजन स्पोर्टस् क्लब भैरहवा र हिमालयन क्रिकेट एकेडेमीले प्रतियोगितामा सहभागित जनाउने छन् ।

प्रतियोगिताका मिडिया कोअर्डिनेटर सञ्जय मण्डलले प्रथम हुने टिमले नगद चार लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । प्रतियोगिताभर दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने प्रतियोगिता लिग चरणमा गरिने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेखबहादुर क्षेत्रीले बाँकेको पर्यापर्यटनका साथै यस क्षेत्रको खेलकुद विकासका लागि प्रतियोगिता महत्वपूर्ण रहने बताए ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर क्रिकेट रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको संरक्षक कोहलपुर नगरपालिका रहेको छ । बाँके जिल्ला क्रिकेट सङ्घको समन्वय र कोहलपुर क्रिकेट स्पोर्टस् एकेडेमी कोहलपुरको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


