२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

प्रथम नेपालगञ्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी सकियो



नेपालगञ्ज   : नेपालगञ्जमा शुक्रबारबाट हुन लागेको प्रथम नेपालगञ्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी सकिएको छ ।

यही फागुनको ८ र ९ गते नेपालगञ्ज रंगशालामा हुन लागेको प्रतियोगितामा सहभागि हुनेहरुको नामावली, अथितिलगायतको सबै तयारी पुरा भएको आयोजक आदर्श तेक्वान्दो दोजाङ्गले जनाएको हो ।

विगत लामो समयदेखि यस औद्योगिक नगरी नेपालगञ्जमा हालसम्म कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता सञ्चालन नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागि हुने दोजाङ्गको नामावली आइसकेको, प्रमुख अथितिको टुंगो लागिसकेको छ ।

प्रतियोगितालाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगरले उद्घाटन गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषदका कर्मचारी एवं प्रशिक्षकसमेत रहेका श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा विगत २०४५ सालदेखि निरन्तर तेक्वान्दो खेलको प्रशिक्षण भईरहेको छ । यसरी विभिन्न समयमा तेक्वान्दो खेलाडीहरुले बाँके जिल्ला र नेपालगञ्जको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमासमेत राख्न सफल भएको श्रेष्ठले बताए ।

प्रत्येक युवा तथा नागरिक अनुशासित, सभ्य, राष्ट्रप्रेमी र स्वस्थ रहे मात्र आफ्नो ठाउँ तथा जिल्ला र देशको परिवर्तनमा सहभागी हुन सक्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तर गर्न सकिए राम्रो हुने श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार
ताजा समाचार