
नेपालगञ्ज : छठ पर्वको अवसरमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाआराधना गरी विधिवत रुपमा मनाइएको छ ।
नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरको पोखरीमा छठ पर्वको लागि निर्माण गरिएको बेदीमा पूजाआजा गरी हिजो साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएर रातभर जागराम बसेर बिहान उदाउदो सूर्यलाई अर्घ दिएर छठ पूजा सम्पन्न गरिएको हो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व गत गत शुक्रबारदेखि सुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने विधि विधान रहेको छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।
नेपालगञ्जको बागेश्वरी मन्दरीको तलाउ छेउमा छठीमाताको आराधना गरी रताभर जाग्राम बसेर विहान उदाउदो सूर्यलाई अर्घ दिएर मनाउने चलन रहेको स्थानीय विरेन्द्र यादव बताउछन ।
नेपालगञ्जमा छठ पूजा समितिले बागेश्वरी मन्दिर र रानी तलाउमा छठपूजाको लागि घाट तयार गर्ने, भजन कृतन गर्ने, रातभर जागराम बस्नेका लागि निशुल्क ओढ्ने विछाउनेको व्यवस्थासंगै प्रसाद ठोकुवा, केरा वितरण गर्दै आएको छ ।



