
नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जका विभिन्न होटलबाट आपत्तिजनक कार्यमा संलग्न रहेको आरोपमा ४५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले शुक्रबार साँझ नेपालगञ्जको मिलन कटेज, दङ्गाली होटल, भेरी कर्णाली होटल र रिभर साइड होटलमा छापा मारेर ४५ जना महिला पुरुषहरु आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको बताए ।

नेपालगञ्जका विभिन्न होटलहरुमा अनैतिक कार्य भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर ४५ जना महिला र पुरुषलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ती चार होटमा छापा मारेर एकैदिन ३१ महिला १४ पुरुष गरेर ४५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ परेकाहरू मध्ये पुरुषहरू अधिकांश भारतीय नागरिक भएको जनाइएको छ ।
पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ‘वेश्यावृत्तिमा संलग्न भएको पुष्टि भएमा कानुन बमोजिम कारबाही हुने छ,’प्रहरी प्रवक्ता पातलीले भने ।


