
रौतहट : रौतहटमा सुटकेस भित्र मृत अबस्थामा फेला परेको महिलाको सनाखत भएको छ । आइतबरा बिहान जिल्लाको गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
जिल्लाको माधवनारायण नगरपालिका –६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडी रहेको रौतहटका डिएसपी राजु कार्कीले जानकारी दिए ।
सुटकेस भित्र मृत अबस्थामा फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रुबिदेवि साह रहेको पुष्टि भएको डिएसपी कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका –६ माधोपुरका रामविनोद साह सुडीको छोरी मृतक रुबिकुमारीको भारतको मुज्जफरपुर जिल्लाका रक्साटोलका शिवकुमारसंग विवाह भएको थियो ।
उनी आफ्नो चार वर्षको छोरालाई पढाउन केही वर्षदेखि गौर नगरपालिकाको महादेवपट्टिमा डेरा लिएर बस्दै आएकी थिइन् ।

व्युटिपार्लर जान्छु भनी हिजो साझ ६ बजे रूबिकुमारी डेराबाट बाहिर निस्केकी थिइन् । तर राति साढे १० बजेतिर गौर नगरपालिका –९ मुडवलवा मोड नजिक सडक किनारमा रसिले बाँधिएको सुटकेस भित्र मृत अवस्थामा रुबिकुमारिको शव भेटिएको थियो ।
घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको प्रहरी टोलीले मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ ।
घटना बारे प्रहरीले गहन अनुसन्धान गरिरहेको जनाएको छ । कसैले हत्या गरेर रुबिकुमारीलाई सुटकेस भित्र हालेर सडकमा फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो । नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको प्रहरीको भनाइ छ । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक बिद्यालयको सिसिटीभी चेकजाँच गरिरहेको छ । अनुसन्धान पछि मात्र थप कुरा खुल्ने जनाइएको छ ।


