झण्डा फेर्ने भन्दै शालिक राख्न खोज्दा भयो केहीबेर झडप
सदरलाइनडटकम
१६ भदौ, नेपालगन्ज : नेपालगन्जको धम्बोझीचोकमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । झडपपछि स्थिति तनावग्रस्त भएको छ ।
राप्रापा नेपाल निकट राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोझी चोकमा राखिएको राष्ट्रिय झण्डा फेर्ने भन्दै झण्डा संगै पूर्व राजा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था आएको थियो । यद्यपी युवाहरुले शालिक भने राखिसकेका छन् ।
नेपालगन्जको वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्रको पूर्णकदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।
प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।
राजतन्त्रको पक्षमा रहेका युवाहरुले वीरेन्द्रको शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि आफूहरुले नै गर्ने बताएका छन् ।
यतिवेला धम्बोझीचोकको अवस्था सामान्य रहेको छ । यद्यपी स्थानीय प्रशासनले सो क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी खटाएको छ ।