नेपालगञ्ज : डाँका चोरी मुद्दामा छ वर्ष कैद सजाय भएका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा बाँकेको डुडुवा गाउपालिका–६ शिख्खनपुरवामा विहीबार बिहान साढे ८ बजे झडप हुँदा एक प्रहरी सहित तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतबाट २०७० असार १८ गतेको फैसलाबाट छ वर्ष कैद र १२ हजार जरिवाना भएका डुडुवा–६ शिख्खनपुरवाका ५५ वर्षिय सरमान सिंह सरदारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयले अवरोध गरेपछि भएको झडपमा परेर सरदारसहित एक स्थानीयलाई गोली प्रहार गरी नियन्त्रणमा लिईएको हो ।
झडपका क्रममा प्रहरीको हतियार खोस्न आउने स्थानीय वर्ष ३० को नानकसिंह शिखको दाँया खुट्टामा गोली लागेको छ । भने फरार प्रतिबादी सरमान सिंह सरदारको दाहिने घुडामा गोली प्रहार गरी नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक डाँगीले जानकारी दिए ।
फरार प्रतिवादी सरदारलाई नियन्त्रणमा लिने क्रममा स्थानीयसंग भएको झडपमा परेर ईप्रका हिरमिनियाँमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी टाउको र बाँया हातमा चोट लागेको छ ।
सो घटनामा परेर घाइते भएका तीनै जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भई रहेको प्रवक्ता प्रहरी नायव उपरिक्षक डाँगीले जानकारी दिए ।