बाँकेमा २१ औ राष्ट्रिय धान दिवस मनाईयो (फोटो कथा सहित)

रुद्र सुवेदी १६ असार २०८१, शनिबार १५:००
 

नेपालगञ्ज : मानो रोपेर मुरी भित्र्याउने बेलामा किसानले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउदै छन् तर, बाँकेमा खेतका गह्रा भने धुलाम्मे छन् । खेत रोपेर हरियो हुने बेलामा लामो खडेरीका कारण पानी पर्ला र खेत रोपौला भन्ने ताकमा किसान रहेका छन् ।

कृषि ज्ञानकेन्द्र बाँकेको आयोजनामा नेपालगञ्ज– १९ पुरैनीमा लुम्बिनी प्रदेश स्तरिय राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरी २१ औ राष्ट्रिय धान दिवश मनाईएको हो ।

२१ औ राष्ट्रिय धान दिवस देशभर मनाई रहदा बाँकेमा लामो खडेरीका कारण किसानले धानको विउ समेत राख्न सकेका छैनन । खडेरीका कारण राखेको विउ पनि गह्रामै धाँजा फाटेर सुकेको अवस्थामा छ ।

बाँकेका किसानले आकासे पानीको भरमा खेती गर्नु आफुहरुको बाध्यता भएको दुखेसो छ । उनीहरु राज्यबाट आफुहरुमाथि जहिले पनि उपेक्षा गरिएको बताउछन् । बाँके डुडुवा–६ का किसान रतिराम कुम्हारले धान रोप्ने बेलामा आफ्नो धुलाम्मे भएको बताए । उनले भने–‘ जमिनमा गाढेको बोरिङ्गले पनि पानी दिदैन, लो भोल्टेज हुन्छ मोटर चल्दैन, सिचाईको व्यवस्था छैन कसरी खेत रोप्ने हाम्रो समस्या कसले बुझिदिने ।’

नेपालगञ्ज १९का बिनोद गिरिले असारको १५ गतेसम्म पानी नपर्दा आफुहरु मर्कामा परेको बताए । ‘जसो तसो विउ राखेपनि खेतमा पानी छैन कसरी रोप्ने, राखेको विउपनि बुढो हुँदै गयो , छिप्पीएको बिउ रोपेर उत्पादन कस्तो हुने हो सारैनै मर्कामा परेका छौ’–दिक्क हुँदै भने ।

कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख शकिल अहमदले बाँकेमा २१ औ धान दिवस मनाई रहदा २ प्रतिशत मात्र रोपाई भएको बताए । उनले यो वर्ष साविकको वर्षहरुमा भन्दा बढी जमिनमा धान खेती हुने र उत्पादन पनि बृद्धि हुने अपेक्षा गरिएको बताए ।


उनका अनुसार अघिल्लो वर्ष यो अवधिमा करिव २० प्रतिशत रोपाई हुने गरेको थियो । तर, यो वर्ष भने २ प्रतशतमै सिमित भएको कारण खडेरीको सामना गर्न पर्ने त होईन भन्ने चिन्तासहितको प्रश्न बोकेर किसान आउने गरेको उनको भनाई छ ।

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँकेमा सिचाईको अभावको कारण किसान मर्कामा परेको बताउदै बाँकेमै रहेको रष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई  आयोजना भए पनि समयमा निर्माण पुरा हुननसक्दा खडेरीमा पनि आकाशे खेतीमा भरपर्नु परेको उल्लेख गर्दै प्रदेश सरकारले बैकल्पिक सिचाईको व्यवस्था मिलाउने बताए ।

उनले भने–‘ सिक्टा निर्माण पुरा भएर किसानको खेतसम्म पानी आउने कहिले हो कहिले, किसानको समस्या समाधानको लागि प्रदेश सरकारले बैकल्पिक सिचाईको लागि डिप बोरिङ्गको व्यवस्था गर्ने गरी बजेटमा पारेको छ ।’

२१ औ राष्ट्रिय धान दिवसको कार्यक्रम लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको धान दिवश कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थी, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कृष्णा केसी नमूना, कृसष मन्त्री भण्डारीलाल अहिर लगायतको सहभागितामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिभिएन कलेज नेपालगञ्जका विद्यार्थीहरुले धान रोपेर धान दिवसको सुरुवात गरिए पनि लामो खडेरीका कारण किसानका खेतका गह्रा भने सुख्खा छन् ।

सधै आकाशे पानीको भरमा गरेको खेतीले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने अवस्था नभएकोले संघ र प्रदेश सरकारले बैकल्पिक सिचाईको समाधान खोज्न आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उन्नत पशुपालनतर्फ लम्कदै बाँकेको नरैनापुर गाउँपालिका

१६ असार २०८१, शनिबार १५:००
नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउपालिका पशुपालनको लागि मुख्य सम्भावना भएको क्षेत्र हो । पालिकाले व्यवसायिक पशुपालनको प्रसस्त संभावनाको खोजी गरी किसानले गर्दै आएको परम्परागत पशुपालनलाई परिवर्तन गर्दै व्यवसायिक पशुपालनतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याएको छ । पछिल्लो केही समय यता नरैनापुरका किसानहरु उन्नत जातको पशुपालनको लागि आकर्षित भएको पालिकाको […]

सम्बन्धित