नेपालगञ्ज : नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिको काम द्रुत गतिमा अघि बढिरहँदा समेत निर्माण कम्पनीले भुक्तानी पाउन सकेको छैन । निर्माण कम्पनीले हाल नेपालगञ्जको नन्दनी मिलदेखि नै सडकमा कालोपत्रेको तयारीका लागि गिट्टी बिच्छाउन थालेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज गुलरीया सडक खण्ड विस्तार हालसम्म द्रुत गतिमा अघि बढेपनि भुक्तानी दिन नसकिएको बताए । इन्जिनियर पाण्डेले भने, “गत आव र चालु आवको गरी करिब ३५ करोड रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ ।“
आयोजनाका अनुसार यही चैतसम्म कालोपत्रेको सुरुवात गर्ने तयारी छ । अस्फाल्ट प्रविधिबाट पहिलो चरणमा ५ सेन्टिमिटरको डिपिएम कालोपत्रे र दोस्रो चरणमा माथिल्लो भागमा पुनः ५ सेमीको कालोपत्रे गरिने छ ।
गत वर्ष भदौमा टेण्डर भएपनि मङ्सिरमा सम्पन्न निर्वाचनपछि काम अघि बढेकोमा प्रारम्भिक चरणको काम करिब सम्पन्न भएको छ । सडक अन्तर्गत रहेको दर्जनौँ स–साना कल्भर्ट निर्माण गरिएको छ ।
निर्माण कम्पनी शर्मा एण्ड कम्पनीले सरकारबाट काम गरे अनुसारको रकम भुक्तानी पाउन नसकेपनि कामलाई तीव्र रूपमा अघि बढाई निरन्तरता दिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।
नेपालगञ्ज–गुलरीया करिब ३३ किलोमिटर सडक स्तर उन्नतिका लागि दुई अर्ब ६९ करोडमा शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा पाएको हो । यो सडक अन्तर्गत मानव बस्ती भएको स्थानमा चारलेन र सामान्य क्षेत्रमा दुई लेनको बन्दैछ ।