२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नापतौल यन्त्र कैफियत गर्ने फर्म र ब्यापारी कारवाहीमा



नेपालगञ्ज : चार महिनाको अवधिमा नापतौल यन्त्र कैफियत गर्ने पाँच सय ६९ वटा फर्म, कम्पनी र ब्यापारीलाई कारवाही गरिएको छ । चालू आवमा ६ सय ९८ वटा नापतौल यन्त्र जाँच गर्दा पाँच सय ६९ वटा फर्म, कम्पनी र ब्यापारीलाई कारवही गरिएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जका प्रमुख कमल ओझाले वताए ।

नापतौल यन्त्र नविकरण नगर्ने, ढिलोगरि नविकरण गर्ने र दर्ता तथा जाँच नगराएकालाई कारवाही गरिएको कार्यालय प्रमुख ओझाले वताए । उनले चालू आर्थिक वर्षको चार महिनामा एक सय १९ फर्मको अनुगमन गरिएको बताए । ‘नापतौल यन्त्र दर्ता तथा पटक–पटक जाँच गराउनु पर्छ भन्ने जानकारी नभएको देखिन्छ,’ उनले भने, ‘जानीजानी नआउनेको संख्या पनि धेरै छ । एक पटक जाँच गराएपछि सँधैभरिका लागि हुन्छ भन्ने मानसिकता भएको पनि देखिन्छ । लापरवाहीका कारण समयमा नगराएको पनि देखिन्छ ।’

नापतौल यन्त्र कैफियत गर्ने फर्म, कम्पनी र ब्यापारीलाई गरिएको कारवाहीबाट १२ लाख ७९ हजार ७५९ रुपैयाँ राजस्व संकलन भएको छ ।

गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष एक हजार सात सय ४० वटा नापतौल यन्त्रको जाँच गर्दा एक हजार चार सय ७९ जनालाई आर्थिक जरिवाना गरिएको थियो । जरिवानाबाट ५२ लाख ४५ हजार सात सय ६२ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख ओझाले बताए । उनले ६ जिल्ल्लामा रहेका मुख्य बजारका ब्यापारीले नापतौल यन्त्र जाँच गराएको वताए । बजार बाहिरको क्षेत्रमा कार्यालयको पहुँच नपुगेको उनको भनाई छ । ‘मुख्य बजारका फर्म, ब्यापारी र कम्पनीले नियमित रुपमा जाँच गराए पनि गाउँ र दुर्गम क्षेत्रमा जाँच गराउनेको संख्या एकदमै न्यून छ,’ उनले भने ।

लुम्विनी प्रदेशका बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा र प्यूठान हेर्दै आएको छ । ६ जिल्लाका सवै ठाउँको नापतौल यन्त्र जाँच गर्ने जिम्मा पाएको उक्त कार्यालयमा १० जना कर्मचारी मात्र कार्यरत छन् । ‘कार्य क्षेत्र ठूलो छ, तर स्रोत, साधन र जनशक्ति एकदमै थोरै छ । एकातिर हेर्यो अर्कोतिर छुट्छ,’ उनले भने, ‘३७ वर्ष पुरानो सवारी साधनले काम चलाइराख्या छौँ । कोहलपुर पुग्न समेत मुस्किल पर्छ ।’

उनले अन्य क्षेत्रभन्दा तरकारी र मासु ब्यवसायीले नापतौलमा कैफियत गरेको बताए । नियमित रुपमा जाँच नगराउने र नापतौत यन्त्र विगार्ने गरेको उनको भनाई छ । ‘नापतौल गर्न अहिले पनि ढुंगा, भारतीय ढक, काठ्को डण्डी, सुनचाँदी खरिद, विक्रि गर्दा ग्राम, मिलिग्राममा मात्र तौल गर्ने तथा तोला, आना, मासा, रती (लालगेडीहरु) लगायतका अवैध सामान प्रयोग गरेको पाइन्छ,’ उनले भने, ‘नापतौल वा नाप्ने, तौल्ने यन्त्रहरु खरिद गर्दा आधिकारिक विक्रेताबाट विल लिएर खरिद नगरेको देखिन्छ ।’

प्रकाशित मिति : २०८० पुस ५ गते बिहीबार
ताजा समाचार