नेपालगञ्ज : बाँकेमा सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले विभिन्न स्थानमा माधक पदार्थ सेवन (मापसे) चेकजाँचलाई कडा पारेको छ ।
बाँकेमा माधक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने दैनिक सरदर ५ जना कारवाहीमा पर्ने गरेको र सडक दुर्घटना पनि बेढेकोले मापसे चेकजाँचलाई कडा पारिएको हो ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको भदौ २० गतेसम्म बाँकेमा माधक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको अभियोगमा २ सय ५१ जनालाई कारवाही गरिएको छ ।
गत आर्थिक वर्ष २०७९÷०८०मा २ हजार ८ सय ५५ जनालाई मापसे गरी सवारी चलायको अभियोगमा कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिए ।
उनले सवारी र्दुघटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा छड्के चेकजाँच गर्ने गरेको र सो अवस्थामा सवारी चालकले माधक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएमा १ हजार नगद जरिवाना र ट्राफिक सचेतना कक्षामा अनिवार्य बस्नुपर्ने भएकोले हालसम्म मापसेमा कारवाही परेका सबैका लागि ट्राफिक सचेतनाको कक्षा समेत सञ्चालन गरिएको बताए ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार मापसे कारवाहीबाट चालु आर्थिक वर्षको भदौ २० सम्म २ लाख ५१ हजार जरिवाना राजस्व संकलन गरेको छ । भने आर्थिक वर्ष २०७९–०८० मा २८ लाख ५५ हजार जरिवाना राजस्व संकलन गरेको छ ।