नेपालगञ्ज : कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण स्थानान्तरण गर्न प्रक्रिया थालिएको छ । हालसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमा कार्यालयस्थानान्तरण गर्न प्रक्रिया थालिएको हो । त्यसका लागि कर्णाली प्रदेश सरकारले आवश्यक बजेट स्वीकृत गरेको जनाएको छ ।
सङ्घीयताको एक कार्यकाल बितिसक्दा पनि कर्णालीका प्रहरी संरचनाहरु अझै लुम्बिनीमै रहेका छन् । जस अन्तर्गत निकै महत्त्वपूर्ण मानिएको सुरक्षा गणलाई कर्णालीमा स्थानान्तरणका लागि काम अघि बढाइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार १ करोड ९१ लाख २९ हजार ८६४ रुपैयाँ बराबरको बजेट स्वीकृत भएको छ ।
उक्त प्रहरी संरचनाका लागि सुर्खेतको गुर्भाकोट नगरपालिकामा–१३ र १४ मा जग्गा प्राप्त भइसकेको छ । २६ असारमा भएको सङ्घीय मन्त्रिपरिषद्ले जग्गाको स्वीकृत दिने निर्णय गरेको थियो । सोही अनुसार साबिक गुमी गाविस–३ (हाल गुर्भाकोट १३,१४) ग कित्ता नम्बर ४०, क्षेत्रफल ३.५.१ विगाह मध्ये क्षेत्रफल १.८.० विगाह र सोही गाविस–५ च कित्ता नं २ को क्षेत्रफल २.२.१९.५ विगाह जग्गा प्रहरी विशेष सुरक्षा गण कर्णाली प्रदेशलाई प्रदान गर्न स्वीकृत भइसकेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रानुसार बाँकेमा रहेको उक्त प्रहरी संरचनालाई गुर्भाकोटमा स्थानान्तरण गरिने तय भएका हुन् । उक्त ठाउँमा तत्कालीन अवस्थामा रहेका भवनहरू उपयोगविहीन भई जीर्ण अवस्थामा रहेका छन् । ती भवनहरूको मर्मत सम्भार र पुन निर्माणको लागि सरकारले बजेट स्वीकृत गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट खर्च व्यहोर्ने गरी रकम विनियोजन गर्न स्वीकृत दिइएको हो ।