डडेलधुरा : डडेलधुरा मेडिकल कलेजमा आगामी माघदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको छ ।
चिकित्सा शिक्षा आयोगको टोलीले डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमनसमेत गरेको छ । पाँच वटा विषय अध्यापनको माग गरिएको सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्कायका डिन हेमनाथ जोशीले बताए ।
“हामीले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,” डिन जोशीले भने, “ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको छ ।”
कक्षा सञ्चालनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापक भर्ना गर्न आवेदन पनि खुला गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आधार सङ्कायका रूपमा सञ्चालन हुने डडेलधुरा मेडिकल कलेजले अनुमति पाएमा माघदेखि कक्षा सञ्चालन हुने उपकुलपति जोशीले बताए ।