नरैनापुरलाई विशेष बजेट उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डसँग माग

सदरलाइन संवाददाता ५ भाद्र २०८०, मंगलवार १४:१५
 

नेपालगञ्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर बाँकेको पिछडिएको गाउँपालिका नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाहले शिक्षा र स्वास्थ्यका लागि विशेष बजेट माग गरेका छन् । सुर्खेतबाट काठमाण्डौ फर्किने क्रममा सोमबार अपराह्न नेपालगञ्ज पुगेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर नरैनापुरका अध्यक्ष शाहले सो माग गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट निकै कम विनियोजन भएको जनाउँदै विशेष गरी शिक्षा र स्वास्थ्यको अवस्था निकै जटिल रहेकोले त्यसका लागि विशेष बजेट माग गरिएको बताए । उनले गत वर्ष सुख्खा भएको पालिकाले कुनैपनि विशेष राहत नपाएको गुनासो समेत प्रधानमन्त्रीसँग गरिएको जनाउँदै स्वास्थ्य र शिक्षामा बजेट थप गरिदिन माग गर्दै इलाका प्रशासन कार्यालय समेत सञ्चालनका लागि व्यवस्था मिलाउन आग्रह गरिएको बताए ।

अध्यक्ष शाहका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारले पिछडिएका क्षेत्रको विकासका लागि विशेष ध्यान दिएको जनाउँदै नरैनापुरका लागि बजेट थप गराउने र इलाका प्रशासन समेत छिटै सञ्चालन गराउने आश्वासन दिए ।


नरैनापुर गाउँपालिकाका प्रेस सल्लाहकार आलम खानले प्रधानमन्त्रीसँग नरैनापुरका जनप्रतिनिधिको टोलीको भेट निकै सकारात्मक भएको र प्रधानमन्त्रीले नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको बताए । प्रधानमन्त्रीसँगको भेटघाटमा अध्यक्ष शाहसँगै नरैनापुर ४ का वडाध्यक्ष मनोज शर्मा, ५ का वडाध्यक्ष कृष्ण चन्द्र मौर्य, अध्यक्षका स्वकीय सचिव विरजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई भेटेर बधाई ज्ञापन गरेका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष टङ्क बहादुर धामीले नेपालगञ्ज पश्चिम नेपालको प्रमुख औद्योगिक र व्यावसायिक हब भएकोले यसलाई औद्योगिक राजधानी बनाएर अगाडी लैजान प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा बहुमुखी क्याम्पस निर्माणको पहल

५ भाद्र २०८०, मंगलवार १४:१५
नेरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा बहुमुखी क्याम्पस स्थापनाको पहल अघि बढेको छ । स्थानीय युवाको अग्रसरतामा भएको एक बृहद् भेलाले क्याम्पस स्थापनाका लागि पहल अघि बढाउने निर्णय गरेको हो । स्थानीय अगुवा विनय दिक्षितका अनुसार, उक्त भेलामा सहभागी तिनै तहका जनप्रतिनिधिले क्याम्पस स्थापना अनिवार्य रहेको बताएका छन् । प्रतिनिधि सभा […]