विपन्न परिवारलाई आयआर्जनका लागि चल्ला वितरण

सदरलाइन संवाददाता ४ भाद्र २०८०, सोमबार १७:०३
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामग्री वितरण गरेको छ ।

कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रमअन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि चल्लासहित विभिन्न सामग्री वितरण गरेको हो ।

बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले एक कार्यक्रमका विच विपन्न परिवारलाई चल्लासहितको सामग्री वितरण गरे ।

सो अवसरमा बोल्दै संघीय सांसद डा. राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह गरे ।


क्लबका अध्यक्ष रवि तुलाधरले दुई गाउँपालिकाका विपन्न र गरिब परिवारको छनोट गरेर कुखुरापालनका लागि सहयोग गरिएको जनाउँदै यो सहयोगको बढी भन्दा बढी सदुपयोग गर्न अनुरोध गरे ।

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, पदाधिकारीहरु, बागेश्वरी बहुउद्देश्यीय कृषि सहकारी खजुराका अध्यक्ष कमला न्यौपाने लगायत प्लान नेपाल र बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

क्लबका अनुसार कुखुरापालनका लागि वितिरण गरिएको सामाग्रीहरुमा प्रत्येक परिवारलाई २८ दिनका तीन वटा खोप लगाइएका १५० वटा चल्ला, आठ बोरा दाना, पानी खाने भाडो ३ वटा, दाना खाने भाडो ३ वटा, खोर निर्माणमा सहयोगका लागि ५ वटा जस्तापाता, १० मिटर फलामको जाली गरेर एक परिवारलाई ६६ हजार १५० रुपैयाँ बराबरको सामग्री रहेको छ । चल्ला वितरण गर्नु भन्दा अघि सो सहयोग पाउनेहरुलाई विज्ञद्वारा कुखुरापालनका बारेमा अभिमुखिकरण गरिएको क्लबका अध्यक्ष तुलाधरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका ४५ स्थानमा फ्री वाइफाइ जडान गरिने

४ भाद्र २०८०, सोमबार १७:०३
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले कागजरहित प्रशासन र नगरका विभिन्न स्थानमा कम्तीमा ४५ स्थानमा फ्री वाइफाइ जडान गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्रमुख प्राथमिकताका नीतिहरुमा राखी कार्यान्वयन गरिने कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिएका छन् । हामी निर्वाचित भई गठन भएको नगरसभाको तेस्रो एवं कोहलपुर नगरपालिकाको […]