छाडा पशुचौपायको व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम

सदरलाइन संवाददाता २ भाद्र २०८०, शनिबार १३:४९
 

नेपालगञ्ज : बाँकेमा छाडा पशु चौपाया व्यवस्थापन ठुलो चुनौतीका रूपमा देखिएको छ ।

स्थानीयले आफ्ना गाईगोरू छोड्दै जाने र सिमानाकाबाट भित्रिएका छाडा चौपायाका कारण समस्या विकराल बन्दै गएको हो । बाँकेका स्थानीय तहले छाडाचौपाया नियमन गर्न कार्यविधि लागू गरे पनि त्यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

विगत केही वर्षदेखि नेपालगञ्ज र कोहलपुरको बजार क्षेत्र मात्र नभएर ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले पनि छाडा पशु चौपायाको कारण दिनदिनै हैरानी खेपिरहेका छन् ।

जुन सुकै समयमा पनि नेपालगञ्ज र कोहलपुरका बजार तथा मुख्य सडकहरू र ग्रामीण क्षेत्रका दोबाटोहरूमा मा जताततै छाडा पशु चौपायाको बथान देखिन्छ । छाडा पशु चौपायाका कारण किसानको बालीनाली नोक्सानीसँगै सवारी दुर्घटना समेत बढिरहेको छ । छाडा चौपायाको नियमन कहिँकतैबाट नभएपछि सडक दुर्घटनाक्रम सङ्गै खेतीपातीको क्षति समेत बढेको स्थानीयको भनाई रहेको छ ।

कोहलपुर १२ चपरगौडिका स्थानीय बासिन्दा भूपेन्द्र सुवेदी पनि सडकमा हिँड्दै गर्दा गोरुले हानेर घाइते हुनु भएको थियो त्यो बेला देखिको चोटले अहिलेसम्म आफूले पीडा खेप्नु परेको गुनासो व्यक्त गरेका छन् । भूपेन्द्र मात्र पीडित नभई छाडा पशु चौपायकै कारण नेपालगञ्ज कोहलपुर खजुरामा धेरै सडक दुर्घटना भइसकेका छन् ।

बाँकेका ८ वटै पालिकामा छाडा चौपायाको आतङ्कनै छ । विकराल समस्याका रूपमा रहेको छाडा चौपायाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका जनप्रतिनिधिका लागि यो विषय अहिले टाउको दुखाई बनेको छ । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालेले छाडा चौपाया व्यवस्थापन गर्ने बताएपनि उचित व्यवस्थापन नहुँदा समस्या भइरहेको छ ।


छाडा पशुचौपाया व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरले राप्ती सोनारी गाउँपालिका सँग जि टु जेट गरेर एक महिना भित्र करिब ४०० गाई गोरुको व्यवस्थापन गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बताए ।

छाडा पशुचौपाया व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले भौतिक पूर्वाधार बनाउनका लागि राप्तीसोनारी गाउँपालिकालाई ३५ लाख रुपैयाँ निकासा गरेको उनको भनाई छ ।

यस्तै कोहलपुर नगरपालिका पनि छाडा पशुचौपायको व्यवस्थापनमा जटायु कम्पनी सङ्ग समन्वय गरेर काम गरिरहेको नगरप्रमुख पूर्ण प्रसाद आचार्यको भनाई रहको छ । उनले चौराहको उत्तरपट्टि रहेको गौशालामा लगेर केही गाई व्यवस्थापन भइरहेको हुँदा पहिलेको तुलनामा अहिले धेरै कम छाडा पशु चौपाय देखिने गरेको बताए ।

छाडा पशुचौपायका कारण बाँकेमा आर्थिक वर्ष ०७७/०७८ मा १८ वटा घटना भएकोमा १० जनाको मुत्यू र ८ जना घाइते भएका थिए भने आर्थिक वर्ष ०७८/०७९ मा ३५ वटा दुर्घटना भएको मा २० जनाको मुत्यू भएको थियो भने १५ जना घाइते भएका थिए भने आर्थिक वर्ष ०७९/०८० मा १२ ओटा दुर्घटना भएकोमा १० जनाको मुत्यू भएको थियो भने २ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले बताए ।

छाडा पशु चौपाया व्यवस्थापन गर्न सके ५० प्रतिशत सडक दुर्घटना कम हुने हुँदा सरोकारवाला निकायहरूले त्यसको व्यवस्थापनमा ध्यान दिन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१३ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनी मिडिया सम्मेलन सम्पन्न

२ भाद्र २०८०, शनिबार १३:४९
नेपालगञ्ज : प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भएको पहिलो मिडिया सम्मेलन १३ बुँदे घोषणपत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । भदौ १ बुटवलमा सुरु भएको मिडिया सम्मेलन २०८० को १३ बुंदे बसन्तपुर घोषणापत्र जारी जारी गर्दै सम्पन्न भएको हो । लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको […]