कोहलपुर (बाँके) : कोहलपुर देशकै नमूना शहरका रूपमा विकसित हुँदै गर्दा उपचारका लागि आउने बिरामीहरुको चाप पनि बढ्दै गएको छ । कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दैनिक बिरामीहरुको चाप बढ्दैजाँदा रगतको अभाव त्यतिकै बढेको छ ।
कोहलपुरमा आएका बिरामीहरुलाई रगतको अभाव हुन नदिन कोहलपुरका प्रतिष्ठित व्यक्तिहरुको भेलाले कोहलपुर नगरस्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाजको गठन गरेको छ ।
उक्त समाजका केन्द्रिय सदस्य गोविन्द वाग्लेको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका सभापति दिनेश सिग्देलको उध्यक्षतामा समाजको गठन गरिएको हो । उक्त भेलाले समाजसेवी चिन्तामणी धितालको अध्यक्षतामा समिति गठन गरिएको हो ।
उक्त समितिको उपाध्यक्ष हेम कुमार रावत, सचिव रामभक्त लम्साल, कोषाध्यक्ष डा. देवेन्द्र आचार्य, सह–सचिव याम कुमारी न्यौपाने (कल्पना) र सदस्यहरुमा एकराज शर्मा, राजेन्द्र विष्ट, मायाराम थारु, टि पि न्यौपाने, जगत रामदाम सहित ११ सदस्य समिति गठन गरेको नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा सभापति दिनेश सिग्देलले जानकारी दिए । भेलाले २ महिला सदस्य पछि थप गर्न निर्णय समेत गरेको छ ।
समितिको पहिलो वैठकले यहि श्रावण २८ गते मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एवम् कोहलपुरको ठूलो शैक्षिक संस्था वागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई रक्तदाता पहिचान तथा उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको समाजका केन्द्रिय सदस्य गोविन्द वाग्लेले जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै नवगठित समितिका अध्यक्ष चिन्तामणि धितालले अब कोहलपुरमा रगतको अभाव भएर कसैको ज्यान नजाने बताए । समितिले हरेक शिक्षण संस्थामा गइ नियमित रक्तदाता तयार गर्ने र समय समयमा रक्तदान सञ्चालन गर्न आफू प्रतिबद्ध भएको बताए ।
यसका लागि सबैको सहयोग अनिवार्य हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, उपाध्यक्ष चन्डी गैरे लगायतको उपस्थित रहेको थियो ।