२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

युनेस्को क्लबको ३४औं साधारणसभा सम्पन्न



नेपालगञ्ज : सामाजिक क्षेत्रको अगुवा संस्था, बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ । साधारणसभामा संस्थागत समीक्षासँगै बाँकेमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने वरिष्ठ व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

क्लबका अध्यक्ष रवि तुलाधरले साधारणसभाको विशेष समारोहमा संस्थाका संस्थापक, वरिष्ठ चिकित्सक, पत्रकार, संस्थाका कर्मचारी र समाजसेवीहरुलाई सम्मानित गरिएको बताए ।

कार्यक्रममका प्रमुख अतिथि पुर्वमन्त्री तथा जसपाका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक डा. रोमन किदवाई, नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडिया, मेडिकल कलेजका वरिष्ठ फिजिशियन डा. आसिम किदवाई र वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सन्दीप गुरुङलाई बिरामीको उपचारमा गरेको योगदानको कदर गर्दै सम्मान गरे ।

सोही प्रकारले बाँकेको बिपद व्यवस्थापनका लागि अहोरात्र खटिएर निरन्तर कार्य गर्दै आउनु भएका विपद् व्यवस्थापन समिती बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीलाई पनि उक्त अवसरमा सम्मान गरियो ।

सो अवसरमा क्लबका संस्थापक अध्यक्ष प्रवेजअलि सिद्दिकी र संस्थापक सल्लाहकार हरिवंश किरातलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले परेको बेला देश र जनताका लागि विशेष योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने परम्पराले अरुलाई पनि प्रोत्साहित गर्ने बताए ।

सो अवसरमा युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्यहरु हरिवंश किरात र तबस्सुम अन्सारी, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य विष्ट, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रकास तिमिल्सिेना, नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगीन शर्मा, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले युनेस्को क्लबले गरेका कामहरुको प्रशंसा गर्दै भविष्यमा पनि झन राम्रो काम गर्ने शुभकामना दिए ।

क्लबका अध्यक्ष रवि तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संस्थाका लागि राम्रो काम गर्ने विभिन्न कर्मचारी, सल्लाहकार तथा सहयोगी र विभिन्न दातृ निकाय लगायत अन्य संघसंस्थालाई पनि सम्मान गरिएको थियो । संस्थाको गतिविधि बारे कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहीबार
ताजा समाचार