नेपालगञ्ज : बाँकेमा पनि डेंगीको संक्रमण देखिन थालेको छ । अस्पताल तथा क्लिनिकहरुमा आउने बिरामीहरुमा डेंगीको संक्रमण देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।
काठमाण्डौ, धरान लगायतका ठाउँमा डेंगीले महामारीको रुप लिरहेका बेला बाँकेमा पनि डेंगीको संक्रमण देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने डेंगी रोगका बिरामी बाँकेमा पनि देखिन थालेको भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिशियन डा. राजन पाण्डेले बताए । डेंगीको जोखिमबाट जोगिन सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।