नेपालगञ्ज : पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमा मिर्गौलासम्बन्धी रोगको विस्तृत जानकारी पाउने रेनल बायोप्सी सेवा शुरु गरिएको छ । मिर्गौलाका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित लाइफलाइन जनरल अस्पतालमा सो सेवा शुरु गरिएको हो ।
लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक नेपालगञ्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन यो सेवा शुरु गरिएको हो । उनले हालसम्म यो सेवा नेपालगञ्ज लगायत यस क्षेत्रका अन्य कुनै पनि अस्पतालमा नरहेको जनाउँदै यो सेवाबाट मिर्गौलामा भएको समस्या, सो को निदान र उपचार गर्न आवश्यक जानकारी प्राप्त हुने बताए ।
मृगौला रोग विशेषज्ञ डा. श्रेष्ठले पिसाबबाट धेरै प्रोटिन जानु, कम उमेरमै मिर्गौलामा समस्या देखिनु लगायत मिर्गौलासम्बन्धी अन्य विभिन्न समस्याका कारण बायोप्सी सेवाबाट थाहा हुने बताए ।
यो सेवा अन्तर्गत मिर्गौलाको सानो टुक्रालाई शरीरबाट निकालेर जाँचका लागि बाहिर ल्याबमा पठाइने र रिपोर्ट आएपछि उपचार शुरु गरिने गरिन्छ । लाइफलाइन जनरल अस्पतालका अनुसार नेपालगञ्जबाट गरिएको बायोप्सीको जाँच भारतको नयाँ दिल्लीस्थित लाल प्याथ ल्याबमा पठाएर गराउने गरिएको छ । त्यसको रिपोर्ट आउन १४ दिन लाग्ने गरेको छ ।
अस्पतालका प्रमुख डा. श्रेष्ठले हालसम्म बर्दियाका दुई र बाँकेका दुई गरेर चारजनाको बायोप्सी गरिएको जनाउँदै जाँचका लागि दिल्ली पठाइएकोमा रिपोर्ट कुरिरहेको बताए । हालका लागि महिनामा दुई पटक मात्र सो अस्पतालमा बायोप्सी गर्ने गरिएको छ । डा. पारस श्रेष्ठ, डा. क्रिस्टी श्रेष्ठ र पाटन अस्पतालका डा. विमल पाण्डे गरेर तीन जना चिकित्सकको टोलीले बायोप्सी गर्ने गरेको अस्पतालले जनाएको छ ।
हालसम्म यहाँ सो सेवा नहुँदा बिरामीलाई बायोप्सीका लागि बुटवल, काठमाण्डौ वा भारतको लखनउ जानुपर्ने बाध्यता रहेकोमा अब सो बाध्यताको अन्त्य भएको बिरामीले जनाएका छन् ।
एक्कासी मिर्गौलामा समस्या देखिएका बर्दिया राजापुरका एक जना बिरामीले नेपालगञ्जमै बायोप्सी शुरु गरिएपछि बाहिर गएर धेरै पैसा र समय खर्चिनुपर्ने बाध्यता समाप्त भएको बताए । उनले आफूले नेपालगञ्जमै बायोप्सी गराएको जनाउँदै रिपोर्ट कुरिरहेको बताए ।