नेपालगञ्ज : सीमावर्ती रुपईडिहामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगञ्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।
करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगञ्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको प्रयोग गर्न सुझाव दिने गरेका छन् । अध्यागमन कार्यालय नेपालगञ्जका वरिष्ठ अध्यागमन सहायक कृष्णा रानाले पहिलो पटक कोभिड सङ्क्रमण बढेपछि सीमा नाका बन्द भएलगत्तै बन्द भएको भारतीय अध्यागमन कार्यालयले अहिलेसम्म सेवा दिन नसकेको बताए ।
रानाले भने, ‘विदेशी पर्यटक धेरै जना आउनुहुन्छ, तर भारततर्फ काम नहुने भएकाले सुनवल लगायतका अन्य नाका जान सुझाव दिने गरेका छौँ । ’ हिउँदको समयमा धेरै विदेशी पर्यटकहरू नेपालगञ्ज नाका भएर आउने गरेको कार्यालयले जनाएको छ ।
हाल अध्यागमन कार्यालयले भारतीय पक्षसँग समन्वय गरी तेस्रो देशबाट फर्केका भारतीयलाई प्रस्थान तथा दिल्ली हुँदै अन्य देशबाट फर्केका नेपालीलाई आगमन स्वीकृति दिने गरेको छ ।
आगमन र प्रस्थान स्वीकृतिका लागि भारतीय पक्षसँग बारम्बार आग्रह गर्दा पनि माथिको आदेश भन्दै सबै प्रकारको सेवा प्रवाह रोकेको अध्यागमन कार्यालयले जनाएको छ । भारतीय अध्यागमनले सेवा रोकेपछि नेपालगञ्ज कार्यालयको सेवा करिब ठप्प भएको हो ।
आर्थिक वर्ष २०७९।८० मा विदेशबाट नेपाल हुँदै भारत प्रवेश गर्न आएका १७ जना भारतीय नागरिकलाई अनुमति दिइएको छ । उनीहरू मध्ये अधिकांश विदेशबाट घर फर्किनुअघि पशुपतिनाथको दर्शन गरी घर फर्किएको अध्यागमन कार्यालयले जनाएको छ । यसै गरी ३ जना नेपालीलाई नेपालगञ्ज प्रवेश अनुमति दिइएको छ । उनीहरू तेस्रो देशबाट भारत हुँदै नेपाल प्रवेश गरेका हुन् ।