जानकी (बाँके) : जानकी गाउँपालिका वडा नं–३ का बिपन्न परिवारलाई लक्षित गरि एक महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । बैशाख ७ गतेदेखि सञ्चालित तालिम एक समारोहकाबीच समापन गरिएको हो ।
समापनमा बोल्दै वडाअध्यक्ष राजकुमार बर्माले महिलाहरु घरमै बसेर आयआर्जन गर्न सक्ने भएको बताए । उनले सीप भएपछि कसैको अगाडी हात थाप्नुपर्ने अवस्था नआउने बताए ।
समापन समारोहमा जानकी गाउँपालिका कार्यपालिका सामाजिक बिकास संयोजक राम अचल धोबी, कार्यपालिका सदस्यहरु राजेन्द्र सिंह, वडा सदस्यहरु लक्ष्मी कुमारी पासी, निलम सिंह ठाकुरानी, हुसेनी अहिर र जानकीको योजना शाखा प्रमुख शोभा पौडेलको उपस्थिति रहेको थियो ।
जानकी गाउँपालिका वडा नं–३ को आर्थिक सहयोगमा समृद्धि फाउण्डेशन नेपालले सो तालिम सञ्चालन गरेको थियो । वडाको बिभिन्न पाँच वटा टोलका २१ जना महिलाहरुको सहभागिता रहेको तालिममा सुष्मा शेषले प्रशिक्षण दिएकी थिइन् ।
तालिममा सहभागि भएका महिलाहरुको आयस्तर बृद्धि होस भन्ने उद्देश्यले सबैलाई एक एक सेट हाते सिलाई मेसिन बितरण गरिएको संस्थाका अध्यक्ष महेश चौधरीले जानकारी दिए ।