नेपालगञ्ज : खोप लगाउन छुटेका र बिचैमा खोप लगाउन छोडेका बच्चालाई आइतवार नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाईंदैछ ।
‘खोज र खोप’ भन्ने अभियान सञ्चालन गरिएको नेपालगन्जमा ६ सय ९२ जनाले विचैमा खोप लगाउन छोडेको र १ सय ७७ जनाले कुनै पनि खोप नलगाएको पाइएको छ ।
खोप लगाउन छुटेका सबै बालबालिकालाई आइतवार खोप लगाउन लागिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।
नेपालगन्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्म खोप सञ्चालन गर्ने गरिन्छ । यो अभियानमा १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ । सबै प्रकारका खोप लगाउन छुटेका बच्चालाई जसरी पनि खोपमा समेट्न उपमहानगरपालिका लागि परेको छ ।
नेपालगञ्जमा लक्षित जनसंख्या कभर हुने तर धेरै बालबालिका खोपमा छुट्ने गरेको पाइन्छ । खोप लगाउन छुटेका बालबालिकाबाट बेलाबेलामा महामारी देखा पर्ने गरेको छ ।
यसपाली घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएका तथ्यांक निकालिएपनि अझै धेरै बालबालिकालाई खोपमा समेट्न सकिएको छैन ।
जुन कुरालाई स्वास्थ्यकर्मीहरुले स्वीकार गरिरहेका छन् । मान्दै नमान्ने बच्चालाई हामीले कसरी खोप लगाउने ? स्वास्थ्यकर्मीको गुनासो रहने गरेको छ ।