गाईभैँसीमा ‘लम्पी स्किन’को संक्रमण फैलियो

सदरलाइन संवाददाता २६ बैशाख २०८०, मंगलवार १५:०८
 

सल्यान : सल्यानमा गाईभैँसीमा ‘लम्पी स्किन’ रोग संक्रमण तीव्ररूपमा फैलिएको छ । यो रोगबाट हालसम्म जिल्लामा १५० भन्दा बढी पशु चौपाया मरिसकेका छन् ।

कालीमाटी गाउँपालिकाबाट शुरु भएको रोग अहिले सबै पालिकामा फैलिएको छ । खेतीपातीको सिजन सुरु हुनै लाग्दा रोगबाट पशुचौपाया मर्न थालेपछि किसान चिन्तितछन् । गाउँघरका सबै गाईगोरुमा रोग फैलिएको छ । गाईगोरुमा मात्र देखिएको रोग पछिल्लो समय भैँसीमा समेत देखिन थालेको किसानहरुको भनाइ छ ।

यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुन्छ । गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।

यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्ने कार्यालयले जनाएको छ । जिल्लामा भ्याक्सिन अभाव भएपछि काठमाडौंबाट मगाएर औषधी उपचार गर्ने प्रयास भइरहेको कार्यालयकोे भनाइ छ ।


यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्छ। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्न र सरसफाइमा ध्यान दिन कार्यालयले भनेको छ ।

कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यानमा यो रोगको संक्रमण बढी फैलिए पछि प्रदेशबाट विज्ञ टोली आएर समेत रोगका बारेमा जानकारी समेत लिएको छ । जिल्लाका संक्रमण फैलिएको स्थानबाट नमुना संकलनको काम भइरहेको छ ।

तीव्ररूपमा रोग फैलिएपछि कर्णाली प्रदेश सरकारले भ्याक्सिन खरिद प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरामा आँखा शिविर : ज्येष्ठ नागरिक खुशी

२६ बैशाख २०८०, मंगलवार १५:०८
बाजुरा : बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरिकमा खुशी ल्याएको छ । दुर्गम गाउँ बस्तीमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो । आर्थिक अभावका कारण राम्रो ठाउँमा गएर […]