सिकलसेल र थालेसेमिया नियन्त्रण अभियान प्रभावकारी बन्दै

सदरलाइन संवाददाता २५ बैशाख २०८०, सोमबार १३:२०
 

नेपालगञ्ज : थारू समुदायको बाहुल्य भएको गाउँबस्तीमा कोहलपुर नगरपालिकाले सञ्चालन गरेको सिकलसेल र थालेसेमियाको रोग नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले थारू समुदायका महिला र पुरुषमा बढी देखिएको सिकलसेल र थालेसेमियाको रोगको नियन्त्रणका लागि सुरु गरिएको अभियानप्रति सो समुदाय बढी आकर्षित भएपछि अभियान प्रभावकारी बन्दै गएको बताए ।

उनले भने, “थारू समुदायलगायत अन्य जातिको पनि रगत परीक्षण गरेर सिकलसेल र थालेसेमियाको रोग पत्ता लगाउने अभियानमा बढीभन्दा बढी स्थानीयको सहभागिता देखिएको छ । निकै चासोका साथ स्थानीयले रगत परीक्षण गराएर रोग पत्ता लागेकालाई रातो कार्ड वितरण गर्ने काम भइरहेको छ ।”

प्रमुख आचार्यले सो अभियानमा स्थानीयको सहभागिता सोचेभन्दा बढी देखिएकाले निकै प्रभावकारी बन्दै गएको बताए ।

केही समयअघिसम्म कोहलपुर नगरपालिका–७ का कृष्ण थारूले सिकलसेलबारे कुनै जानकारी पाएका थिएनन् तर अहिलेको अभियानबाट प्रभावित भएर उनले रगत परीक्षण गराए र उनलाई सिकलसेल भएको पुष्टि भयो ।

कृष्ण थारूले भने, “मैले सो रोगबारे जानकारी नपाउँदा उपचारमा ठुलो रकम खर्च गरँे तर अझै निको भएन, अहिले आएर बल्ल थाहा भयो कि मलाई सिकलसेल रहेछ । अहिले मेरो रातो कार्ड बनेको छ ।”


यो अभियानबाट सो रोग पत्ता लागेपछि उपचार सुरु गराएका कृष्ण जस्तै दर्जनौ महिला र पुरुष छन् । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले उक्त अभियान अन्तर्गत वडा वडामा गरिने अभिमुखीकरणमा सहभागी हुने अधिकांशले रगत परीक्षण गराइरहेको जनाउँदै रोग देखिएकाको उपचार सुरु गरिएको बताए ।

उनले अभिमुखीकरणमा ठुलो सङ्ख्यामा स्थानीयको सहभागिता रहने गरेकाले सोबारेमा जनचेतना फैलाउन सहज भएको बताए ।

सिकलसेल तथा थालेसेमियाका ल्याब प्रमुख शिव गौतमले सो अभियान अन्तर्गत हालसम्म कोहलपुर नगरपालिकामा करिब ११ हजारभन्दा बढीको रगत परीक्षण गरेको बताए । उनले तीमध्ये सिकलसेल रोगी ९५ जना, वाहक रोगी एक हजारभन्दा बढी जना र थालेसेमियाका रोगी १५० जना फेला परेको बताए ।

एक हजारभन्दा बढी वाहक फेला पर्नु निकै चिन्ताजनक अवस्था रहेको जनाउँदै अविवाहित वाहकको विवाह गर्दा वाहकसँग गर्न नहुने चिकित्सकहरूको भनाइ छ । नगरपालिकामा अहिले दैनिक २० देखि ४० जनासम्म रगत परीक्षण गर्न आफैँ आउन थालेका छन् ।

कोहलपुरमा २२ हजारभन्दा बढीको सङ्ख्यामा थारू समुदाय रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रत्येक वडामा वडाध्यक्षको सभापतित्वमा यो अभियान सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा कुपोषणको समस्या बढ्दै

२५ बैशाख २०८०, सोमबार १३:२०
सुर्खेत : कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको सरकारी तथाङकले देखाएको छ । बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण, तालिम–गोष्ठी लगायतमा लाखौ खर्च गरेपनि कुपोषणको समस्या बढ्दै गएको पाईएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन । कर्णाली प्रदेश योजना अयोगले […]