नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा २ महिनादेखि सञ्चालन गरिएको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र सोमबार परिवारका सदस्य सहभागी भएका छन् । उनलाई यहाँका मूल महन्तले अति विशिष्ट सम्मान दिएका छन् । महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा सहभागी भएपनि उनका छोरा पारस भने सहभागी भएका थिएनन् ।
उनीहरूलाई राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणा, बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीलगायतले स्वागत गरेका थिए । यो मन्दिरमा हरेक सोमबार महाआरती हुने गरिएकोमा आरतीको १४ औँ संस्करणमा पूर्वराजाका परिवार पुगेका हुन् ।
पूर्वराजाबाट नागरिक बनेका ज्ञानेन्द्रलाई महाआरतीमा बागेश्वरीका मूल महन्त चन्दननाथ योगीले राजाकै सम्मान प्रदान गरेको भन्दै स्थानीयले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सर्वसाधारण भक्तजनहरूलाई दुर्व्यवहार गर्दै आएका मूल महन्तले पूर्वराजासहित परिवारलाई भने अति विशिष्ट सम्मान दिँदै विशेष आसनमा बसालेको भन्दै स्थानीयले सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।
पूर्वराजाका परिवारलाई हेर्न भीड लागेको थियो । शाह राजपरिवार बागेश्वरी मन्दिरमा केही बेर पूजा गरेपछि महाआरतीमा सहभागी भएका थिए । शुक्रवार नेपालगन्ज पुगेका पूर्वराजा शाहलाई २० गते नेपालगन्जमा राप्रपाका महामन्त्री धवलसम्सेरको अगुवाइमा राजावादीहरूले अभिनन्दन गर्ने तयारी गरेका छन् । एक महिना नेपालगञ्ज बस्ने कार्यतालिका बनाएका पूर्वराजाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्दैछन् ।