बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी, सास फेर्न समस्या

सदरलाइन संवाददाता १५ बैशाख २०८०, शुक्रबार १५:५४
 

बर्दिया : झण्डै दुई हप्तायता बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका जङ्गलभित्र आगलागी हुँदा मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । बर्दिया निकुञ्जभित्र जङ्गलमा लागेको आगोका कारण निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँबस्ती धुवाँले ढाकेको छ ।

धुवाँका कारण आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने, निकुञ्जभित्र रहेको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा गाडी चलाउन गाह्रो हुनेलगायतका समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडबाट सल्किएको आगो निकुञ्जको पश्चिम तथा दक्षिण क्षेत्रमा समेत फैलिँदै गएको छ ।

निकुञ्जभित्रको जङ्गलमा लागेको आगोको धुवाँले निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती ढाकेको छ । पुष र माघ महिनामा कुहिरोले ढाकेझैँ यतिबेला धुवाँले गाउँबस्ती ढाकेको छ । बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औँरी, ठाकुरद्वारा लगायतका धेरैजसो गाउँ केही दिनयता धुवाँले ढपक्कै ढाकिएका छन् । निकुञ्जको चुरे पहाडदेखि फैलिएको आगो केही दिनयता तराई क्षेत्रको जङ्गलमा समेत फैलिएको बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रका केशव खनालले बताए ।

बर्दिया निकुञ्ज आसपासका गाउँबस्तीका स्थानीय बासिन्दा वन जङ्गलभित्र लागेको आगोको धुवाँबाट वर्षौँदेखि पीडित हुँदै आएका छन् । ‘झण्डै एक महिनासम्म धुवाँको समस्या हुन्छ, गाउँबस्तीमा धुवाँ दिउँसोको तुलनामा राति र बिहानमा अझैँ बढी हुने गर्छ,’ खनालले भने ।

‘दिउँसो हावा चल्ने हुनाले धुवाँको प्रभाव धेरै नभए पनि बेलुका हुनासाथ धुवाँले गाउँबस्ती ढाकिन्छ,’ कर्मला गाउँका फिरु थारुले भने । ‘धुवाँका कारण यस क्षेत्रमा हिँडडुल गर्नेलाई समस्या छ, बिहान बेलुका घर बाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ,’ थारुले बताए ।


धुवाँले बालबालिका र ज्येष्ठ नागरिकलाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ । बेलुका ७ बजेदेखि बिहान ९ बजेसम्म धुवाँका कारण राजमार्गमा गाडी चलाउनसमेत गाह्रो हुने गरेको चालक गोपाल रानामगरले बताए ।

निकुञ्जभित्र सेनाका दर्जनभन्दा बढी सुरक्षा पोष्टहरु छन् । धुवाँले निकुञ्ज सुरक्षार्थ खटिएका सेना र कर्मचारीलाई असर पर्न थालेको छ । गर्मीयाममा पश्चिमी वायुसँगै चल्ने हावाका कारण निकुञ्ज भित्र सल्केको आगो फैलिँदै गएको निकुञ्जले जनाएको छ ।

‘आगो नियन्त्रमा लिने प्रयास जारी छ, नेपाली सेना र कर्मचारीको आगो नियन्त्रण गर्ने र्यापिड टिम बनाएर खटाएका छौँ, निकुञ्ज भित्रको लालमाटी र राजमार्ग आसपासका क्षेत्रमा खटाएका छौँ, धेरै ठाउँमा आगो लागेका कारण र पानी नपरेका कारणले पनि आगो निभाउन नसकिएको हो’ बर्दिया निकुञ्जका सूचना अधिकारी आषि न्यौपानेले भने ।

निकुञ्जमा लागेको आगोका कारण हरेक वर्ष चराचुरुङ्गीका अण्डा, बच्चा, गुँड र नयाँ बोटबिरुवा तथा जडीबुटी जलेर नष्ट हुने गरेको छ । वन जङ्गलभित्रको आगलागीका कारण मानवस्तीसँगै निकुञ्ज र सामुदायिक वन भित्रका वन्यजन्तु समस्यामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकामा पाँच जनामा कोरोना देखियो

१५ बैशाख २०८०, शुक्रबार १५:५४
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा शुक्रवार पाँच जनामा कोरोना पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच जना नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए । नाकामा १ सय ५४ जनाको परीक्षण गर्दा जाजरकोट, जुम्ला, कालीकोट, कैलाली र सल्यानका एकएक जनामा कोरोना देखिएको […]