२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बढैयाताल पाँच बुँदे घोषणपत्र जारी



नेपालगञ्ज : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा बालविवाह अन्त्यका लागि पाँच बुँदे घोषणा पत्र जारी गर्दै सोका लागि कार्यविधिको मस्यौदा समेत तयार गरिएको छ ।

बढैयाताल गाउँपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत तीन दिने कार्यशाला गोष्ठिको आयोजना गरेर घोषणा पत्र जारी गर्दै कार्यविधि तयार पारिएको हो ।

बिभिन्न धर्मका धार्मिक, अगुवा, पण्डित, बडघर, पास्टर, बौद्ध गुरुहरुलाई एउटा संजालमा आबद्ध गरी बालबिवाह बिरुद्ध शसक्त रुपमा कार्य गरी बढैयाताल गाउँपालिकालाई बालबिवाहमुक्त गाउँपालिका बनाउने उद्देश्यकासाथ सोे कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

उनका अनुसार उक्त कार्यशाला गोष्ठिमा बालअधिकार, बाल संरक्षण, बालबिवाह, यस सम्बन्धी कानुनी तथा नितीगत ब्यबस्थाहरु, यसका कारण, प्रभाव र यसको न्युनिकरणमा स्थानीय सरकार र धार्मिक अगुवाहरुको भुमिकाको बिषयमा ब्यापक छलफल गरिएको थियो ।

बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षता र बढैयाताल गाउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीको बिशेष उपस्थितीमा सम्पन्न भएको कार्यशाला गोष्ठिमा गाउँकार्यपालिकाका सदस्यहरु, पालिकाका सबै शाखाका प्रमुखहरु, बिभिन्न धर्मका धार्मिक अगुवाहरु, नागरिक समाज संस्थाका प्रतिनिधीहरु र नेपाल प्रहरी समेतको सहभागिता रहेको थियो ।

गोष्ठिमा अन्तरधार्मिक संजाल सञ्चालन तथा ब्यबस्थापन कार्यबिधीका बिभिन्न दफामा छलफल, समुह कार्य र प्रस्तुतीकरण गरेर कार्यबिधीको मस्यौदा तयार गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

उनका अनुसार कार्याशालामा छलफल पश्चात तयार गरिएको मस्यौंदा कार्यबिधीलाई अझै पालिकाले छलफल गरी अन्तिम रुप दिई कार्यपालिकाबाट अनुमोदन गराई कार्यन्वयनमा ल्याउँने सहमति र समझदारी गोष्ठिमा गरिएको छ ।

गोष्ठिको समापनमा बोल्दै बढैयाताल गाउँपालिकाका प्रमुख हिमालय त्रिपाठीले वालबिवाहको अन्त्य तथा न्युनिकरण स्थानीय सरकारको प्रमुख काम भएपनि यसको न्युनिकरणको लागि प्लान नेपाल र बाँके युनेस्को क्लबले गरेको प्रयत्नप्रति आभार ब्यक्त गरे । उनले तयार पारिएको कार्यबिधीलाई पालिकाबाट अबिलम्ब अनुमोदन गराई यस पालिकालाई छिटै बालबविवाहमुक्त पालिका बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

त्यसै गरी सो गोष्ठिका अध्यक्ष तथा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बढैयाताल गाउँपालिकालाई बालबिवाहमुक्त पालिका बनाउनकालागि र यस पालिकामा बालबिवाह हुन नदिन अन्तर—धार्मिक संजालले महत्वपुर्ण भुमिका खेल्न सक्ने कुरालाई मध्यनजर गर्दै संजाललाई सरकारी संयन्त्रको रुपमा स्थापन गर्नका लागि कार्यबधी बनाई लागु गर्न लागिएको बताइन् ।

सो गोष्ठिमा पालिकाका शिक्षा शाखा प्रमुख विष्णु ढकाल लगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० वैशाख १२ गते मंगलबार
ताजा समाचार