राप्ती नदीमा तटबन्ध निर्माणका लागि सांसद नमुनाको पहल

सदरलाइन संवाददाता ११ बैशाख २०८०, सोमबार १३:१७
 

नेपालगञ्ज : बाँकेको दुर्गम मानिने राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई डुबानबाट जोगाउन वर्षा सुरु हुनुभन्दा पहिले नै राप्ती नदीमा अति जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण आवश्यक देखिएको छ ।

लामो समयदेखि वर्षातको समयमा राप्तीनदीमा आउने बाढीले गर्दा राप्तीसोनारी र नरैनापुरका धेरै गाउँ डुबान र कटानमा पर्दै आएको हुँदा पटक पटक प्रयास गरिए पनि तटबन्ध नबन्दा सो क्षेत्रका सयौँ बासिन्दाले डुबान र कटान झेल्दै आएका छन् ।

यस पटक वर्षा सुरु हुनुभन्दा पहिले नै राप्तीनदीमा अति नै जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण र केही भत्किएका तटबन्धको मर्मत सम्भारका लागि सो क्षेत्रका प्रदेश सांसद कृष्णा केसी नमुनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहारेकी छन् ।

आफ्नो क्षेत्रका जनतालाई डुबान र कटानबाट हुने क्षतिबाट जोगाउन राजधानी पुगेर प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई भेटेर विशेष आग्रह गरिएको बाँके क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सांसद नमुनाले बताइन् ।

उनले प्रधानमन्त्री प्रचण्डले अबको दुई महिनाभित्र तटबन्ध मर्मत सम्भार र निर्माणको कार्य पुरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएकाले आशा पलाएको बताइन् ।

सांसद नमुनाले राप्ती सोनारी ७ फत्तेपुर र नरैनापुर ६ मा गत वर्ष भत्केको राप्तीको तटबन्ध मर्मत नहुँदा वर्षाको समय नजिकिँदै गर्दा स्थानीय बासिन्दा त्रसित र आक्रोशित भएको बताइन् ।


उनले सो बारेमा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र गृहमन्त्रीलाई समेत भेटेर छलफल गरेको जनाउँदै प्रधानमन्त्रीको निर्देशन पुरा हुने आश्वासन दिएको बताइन् ।

राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धमा २०७९ असोज महिनामा आएको बाढीले ठुलो क्षति पुर्याएको थियो । राप्तीसोनारी गाउँपालिकाका अनुसार राप्तीसोनारी ७ मा मात्रै करिब ११ सय मिटर लामो तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ ।

यस्तै नरैनापुर गाउँपालिकाका अनुसार सो पालिकाको वडा नम्बर ६ मा करिब डेढ सय मिटर क्षेत्र तटबन्ध मर्मत गर्नुपर्नेछ भने दुवै पालिकामा नौ स्थानमा नयाँ तटबन्ध निर्माण गर्नु पर्ने अति आवश्यक रहेको छ ।

नरैनापुर गाउँपालिका–६, गङ्गापुर गाउँका स्थानीय अगुवा रामचन्द्र यादवले तटबन्ध भत्किएको एक वर्ष हुन लाग्दा पनि अहिलेसम्म मर्मत नगरिएकोले यस पटक वर्षामा क्षति हुने चेतावनी दिए ।

उनले उक्त तटबन्ध पूर्ण रूपमा भत्किएमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर र नरैनापुर गाउँपालिका ६ गंगापुरका करिब १० हजार मानिसको ज्यान जोखिममा पर्ने र सयौँ बिघा खेतीयोग्य जमिन नष्ट हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘ज्याकी आई एम ट्वान्टिवान’ फरक रहेको निर्माण पक्षको दाबी

११ बैशाख २०८०, सोमबार १३:१७
नेपालगञ्ज : आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे ‘ज्याकी–आई एम ट्वान्टिवान’ विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । ‘ज्याकी आई–एम ट्वान्टिवान’को प्रचारप्रसारका क्रममा नेपालगञ्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो । मोफसलको यात्रामा […]