नेपालगञ्ज : ईस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व ‘ईद–उल–फित्र’ ईद नेपालगञ्जको ईदगाहस्थित मस्जिदमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु भएको छ ।
पवित्र महिना रमजानको एक महिना लामो कठोर उपबास (रोजा) पछि नेपालगञ्जको ईदगाह मस्जिदमा विहान साढे ८ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज सुरु भएको थियो ।
ईस्लामीक धार्मिक पात्रो हिजिरीका अनुसार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर अर्कोदिन ईद मनाईने परम्परा भएको मुस्लिम धर्मगुरु तथा मदरसा दारुल उलुम बरकातिया माविका प्रधानाध्यापक मौलाना ज्याउल मुस्तफा नूरानीले जानकारी दिए ।
अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्म संयम र शुद्धिका लागि नवौं महिनामा एक महिना भरी रोजा बसी दशौं महिनाको पहिलो दिन ईद मनाउने चलन रहेको छ । रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एक आपसमा शुभकामना साटासाट गर्ने चलन रहेको छ ।
अरबीपात्रो हिजरी संवत अनुसार दशौँ महिना (सौवाल) मा देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँछन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खानदिने चलन छ । यस पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखीलाई दानदिनु हो । यस पर्वमा मुसलमान धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको छ ।
यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखीलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । इद उलफित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छे अनुसार गहुँवा सो बराबरको नगद दान गर्छन् जसलाई फितर भनिन्छ । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुसलमानहरुले रमजान महिनामा भोजन गर्छन् ।