लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मातृ मृत्यु दर

सदरलाइन संवाददाता ४ बैशाख २०८०, सोमबार १३:४४
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु दर हुने गरेको पाइएको छ । सातवटा प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्यु दर धेरै हुने गरेको हो । मातृ मृत्युदर बर्षेनि बढ्दो क्रममा छ । बितेको पाँच वर्षको तथ्यांक अनुसार यो प्रदेशमा सुत्केरी हुने क्रममा ३२४ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ देखि यता ३२४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त आर्थिक वर्षमा ५३ जना महिलाले प्रसुतिका क्रममा ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा यो संख्या ५४ पुग्यो ।

त्यस्तै, २०७६/०७७ मा ७१, आर्थिक वर्ष २०७७/०७८ मा ७२ र आर्थिक वर्ष २०७८/०७९ मा ७४ जना महिलाले प्रसुतिका क्रममा ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयकी नर्सिङ अधिकृत सुनिता ज्ञवालीका अनुसार प्रसुति हुनुपूर्व वा प्रसुतिपछि अत्यधिक रक्तश्रावले सबैभन्दा बढी २३ प्रतिशत सुत्केरीको मृत्यु हुने गरेको छ । गर्भावस्थामा स्वास्थ्यमा ख्याल गर्ने हो भने यस्तो मृत्यु घटाउन सकिने उनले बताइन् ।

लुम्बिनी प्रदेशका १०९ वटा पालिका मध्ये १३ वटाले मात्रै घरमा प्रसुती हुने दर शून्यमा झारेका छन् । नियमित गर्भ परीक्षण नगर्दा, घरमै प्रसुति हुँदा वा विशेषज्ञ अस्पताल नजाँदा धेरै आमाहरूले ज्यान गुमाएका छन् ।

स्वास्थ्य संस्थामा प्रसुती गराउने आवश्यक उपकरण र दक्ष जनशक्ति नहुँदा एवं पूर्वतयारी नगर्दा पनि आमाहरू मृत्युको मुखमा धकेलिएका छन् । स्वास्थ्य संस्था पुगे पनि नजिक विशेषज्ञ अस्पताल नहुँदा र त्यस्ता अस्पताल जाँदा हुने ढिलाइले पनि आमाहरूले ज्यान गुमाएका छन् ।

कतिपय अवस्थामा चिकित्सकको असावधानीले गर्दा विशेषज्ञ अस्पताल पुगेका महिलाले पनि आमा बन्दा ज्यान गुमाएका छन् । आमा बन्दा सजिलो होस् भनेर लुम्बिनी प्रदेशमा ४०६ वटा बर्थिङ्ग सेन्टर स्थापना भएका छन् ।


गर्भमा जटिलता भए शल्यक्रियासहितको निःशुल्क सेवा दिने २२ वटा अस्पताल छन् । लुम्बिनी, भेरी र राप्ती विशेषज्ञ सेवासहितका अस्पताल हुन् । ८४ जना नर्सहरू अल्ट्रा साउण्ड सेवासहित घरदैलोमा खटेका छन् । तर, लुम्बिनीमा मातृ मृत्युदर घटेको छैन ।

जनगणना २०७८ अनुसार देशमा प्रतिलाखमा १५१ जनाको मृत्यु हुन्छ । लुम्बिनी प्रदेशमा प्रतिलाखमा २०७ जनाको मृत्यु हुने गरेको देखिएको छ । जुन सातवटा प्रदेशमा सबैभन्दा धेरै हो ।

जोखिममा परेका दुर्गमका गर्भवती तथा सुत्केरी महिलालाई तत्काल अस्पताल ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले निःशुल्क हवाई सेवा दिने गरेको छ । त्यसमा लुम्बिनी प्रदेशका रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा र गुल्मीका केही स्थान छनोट भएका छन् ।

स्वास्थ्य निर्देशनालयका फोकल पर्सन कौशलराज भण्डारीले अस्पतालसँग सम्झौता नहुँदा जोखिमका सुत्केरीलाई पनि निःशुल्क हेलिकोप्टर सेवा दिएर उद्धार गर्न नसकिएको बताए ।

“स्वास्थ्य संस्थामा दरबन्दीअनुसार प्रसुति विज्ञ र नर्सिङ स्टाफ नहुँदा र कतिपयमा भौतिक पूर्वाधार कमजोर हुँदा पनि सहज प्रसुती सेवा पाएका छैनन्,” उनले भने, “यसले मातृ मृत्यु घटाउन चुनौती थपेको छ ।”

लुम्बिनी प्रदेश सरकारले गर्भवतीलाई स्वास्थ्य संस्था जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न यस वर्षदेखि हरेक पालिकामा ६० हजार र जिल्ला तहका अस्पताललाई रेफर गर्दा एम्बुलेन्स व्यवस्था गर्न भन्दै दुई लाख पठाएको छ ।

निमित्त स्वास्थ्य सचिव डा. विनोदराज गिरीले घरमा प्रसुति हुने र उपचारमा अलमलमा पर्नेको संख्या घटाउन नसक्दासम्म मातृ मृत्युदर घटाउन नसकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जदेखि सुर्खेत जोड्ने रत्न राजमार्गलाई व्यवस्थित बनाईंदै

४ बैशाख २०८०, सोमबार १३:४४
नेपालगञ्ज : रत्न राजमार्गको नेपालगञ्जदेखि सुर्खेत वीरेन्द्रनगर उपत्यका जोड्ने प्रमुख राजमार्गलाई व्यवस्थित बनाइने भएको छ । सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति हुन सकिरहेको थिएन । कोहलपुर–वीरेन्द्रनगरसम्म ११५ किलोमिटर र कोहलपुर–नेपालगञ्ज २५ किलोमिटर रहेको यो सडकका विभिन्न भाग जीर्ण छन् । जसका कारण सडक दुर्घटनाको जोखिम बढेको […]

सम्बन्धित