नेपालगञ्ज : नेपाल प्रहरीका एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को निवासबाट ३५ तोला सुनसहित २५ लाख रुपैयाँ भेटिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी ठगबहादुर केसीको निवासबाटै उक्त सुन सहितको नगद रकम प्रहरी प्रधान कार्यालयकै अनुसन्धान टोलीले बरामद गरेको हो ।
प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतवार साँझ डीएसपी केसीलाई निवासबाटै २५ तोला सुन र २५ लाख रुपैयाँ नगदसहित पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो ।
सुन कारोबार सम्बन्धि मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी प्रधान कार्यालयको टोलीले केसीको निवासमा खानतलासी गर्दा सुनसहित लाखौं नगद फेला परेको प्रहरी स्रोतले बताएको छ । उक्त सुन नियन्त्रणमा लिएर डीएसपी केसीले व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।
ती सुन व्यापारीले डीएसपी केसीलाई २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।डीएसपी केसी इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएर आज रमाना लिई कास्की जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ ।
नियन्त्रणमा लिइएका केसीसँग थप अनुसन्धान गरिने प्रहरी श्रोतले जनाएको छ । तर, केसीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेका छन् । डीएसपी केसीले गत साउन महिनामा एक जना जनप्रतिनिधिलाई लात हानेका थिए ।