समाचार सारांश
- जेनजी आन्दोलनका क्रममा बाँकेका दुई बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट भागेका ३४० जनामध्ये १६९ जना एक वर्ष बितिसक्दा पनि सम्पर्कविहीन छन्।
- फरारमध्ये जयन्दु बालसुधारगृहका ६८, नौबस्ता बालसुधारगृहका ४७ र क्षेत्रीय कारागारका ५६ गरी १७१ जना पक्राउ परिसकेका छन्।
- प्रहरीले बाँकी फरारमध्ये धेरै जना भारततर्फ गएको हुन सक्ने अनुमान गर्दै खोजी जारी राखेको जनाएको छ।

नेपालगञ्ज : गतवर्षको जेनजी आन्दोलनका क्रममा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट भागेका १६९ जना बालबन्दी तथा कैदी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । गत वर्ष भदौ २३ गते राति र २४ गते आन्दोलनका क्रममा सुधारगृह तथा कारागारबाट भागेका ३ सय ४० जनामध्ये हालसम्म १ सय ७१ जना पक्राउ परेका छन् ।
बैजनाथ गाउँपालिकाको नौबस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकाको जयन्दु बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट गरी ३ सय ४० जना भागेका थिए । तीमध्ये जयन्दु बालसुधारगृहबाट भागेका १ सय १५ जनामध्ये ६८ जना, नौबस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागारबाट फरार भएका १ सय ४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् ।
जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माका अनुसार आन्दोलनका समयमा सुधारगृहमा रहेका २ सय २८ बालबन्दीमध्ये १ सय १५ जना भागेका थिए । उनले फरारमध्ये ६८ जना पक्राउ परिसकेको र ४७ जना अझै फरार रहेको बताए ।उनले फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैँ सुधारगृहमा फर्किएको जानकारी दिए ।
यसैगरी नौबस्ता बालसुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार आन्दोलनका क्रममा सुधारगृहमा रहेका १ सय ७६ बालबन्दीमध्ये ७८ जना भागेका थिए । सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बालबन्दीको मृत्यु भएको उहाँले बताउनुभयो । फरारमध्ये ४७ जना पक्राउ परिसकेका छन् भने ३१ जनाको खोजी भइरहेको छ ।
त्यसै गरी नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १ सय ४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन् । कारागार प्रमुख दलबहादुर बस्नेतका अनुसार १८ जना विदेशी नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन छन् । आन्दोलनका बेला कारागारमा ५ सय ८५ कैदी रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार भएकामध्ये कतिपयलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ भने बाँकीको खोजी भइरहेको छ । सम्पर्कविहीनमध्ये धेरै जना भारततर्फ गएको हुन सक्ने अनुमानसमेत गरिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा बाँकेसहित देशका विभिन्न स्थानका कारागार तथा बालसुधारगृहबाट कैदीबन्दी भागेका थिए । नेपालगञ्जस्थित जिल्ला कारागारबाट भने कैदीबन्दी भाग्न सकेका थिएनन् । उनीहरूले भाग्ने प्रयास गरे पनि नेपाली सेनाले कारागारलाई घेराबन्दी गरेका थिए । त्यस क्रममा सेनाले गोली चलाउँदा कैलाली घर भएका एक कैदीको खुट्टामा गोली लागेको थियो ।

