दाङ : दाङ बंगलाचुली गाउँपालिकाका किसानलाई चैते धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । अधिकांश ठाउँहरूमा धान रोपाइँको चटारो चलिरहेका बेला बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरू भने चैते धानबाली घरमा भित्र्याउन भ्याइनभ्याइ भएको हो ।
सुकाखोला आसपासका स्थानीयहरू चैते धानबाली स्याहार्न पाउँदा दंग छन् । विगतका वर्षभन्दा यो पाली धानबाली राम्रै भएको छ । धान रोप्दै खेतमा नयाँ वर्ष मनाएका उनीहरू असारको तेस्रो सातामा धान पाकेपछि स्याहार्न व्यस्त भएका हुन् ।
खोला छेउका डाबरहरूमा चैते धान रोप्दै आएका कृषकहरूले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिँदै आएका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब दुई हजार पाँच सय बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ ।
यसका लागि स्थानीय सरकारले कृषकलाई चैते धान उत्पादनका लागि प्रोत्साहन नगरे पनि स्थानीय कृषक परम्परागत रूपमा यसलाई निरन्तरता दिँदै आएका छन् ।