नेपालगञ्ज : पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ ।
मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ ।
दुई महिनाअघि प्रतिलिटर ३५० मूल्य रहेको यो तेलको मूल्य हाल ३६० पुगेको छ । तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ । दुई महिना अघिसम्म प्रतिकिलो ४० देखि ६० पर्ने गेलभेँडाको मूल्य बढेर अहिले सय पुगेको छ ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
लौका र फर्सीको मूल्य स्थिर रहेपनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोभक्ताले बताएका छन् । साग र तरकारीको चर्को मूल्य वृद्धिसँगै यसको कारोबार व्यापारीले किलोमा भन्दा पाउको हिसाबमा गर्न थालेका छन् । ‘‘साग र तरकारीको मूल्य छोइनसक्नु भएको छ’’, स्थानीयवासी जयपाल मौर्यले भने, ‘‘तरकारी र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् ।’’
उनले हुने खानेले बढी मात्रामा प्रयोग गरिरहेको पेट्रोल, डिजेलमा मूल्य घटाउनुपर्ने तर विपन्न वर्गको प्रयोगमा रहेको खाना पकाउने ग्यासको मूल्य नघटाउने सरकारको नीति गरिबमारा रहेको आरोप लगाए । अन्य महिनाको भन्दा वर्षायाममा तराईका जिल्लामा सागलगायत तरकारी उत्पादन निकै कम परिमाणमा भएको छ ।
तराईका शहरी क्षेत्रमा यसको माग पूरा गर्न पहाडी जिल्लाबाट साग र तरकारी आउने गरेकाले वर्षामा यसको मूल्य पनि वृद्धि हुने गर्दछ । तर अहिलेको वर्षामा अचाक्ली ढङ्गले मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो थियो । मूल्य वृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएपनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको उपभोक्ताहरुको भनाइ छ ।