खडेरीले बाली सुक्न थालेपछि सल्यानका किसान चिन्तित

सदरलाइन संवाददाता ९ असार २०७९, बिहीबार १४:०४
 

सल्यान : सल्यानमा लामो समयसम्म परेको खडेरीका कारण बर्खेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित छन् ।

कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी पनि खडेरीका कारण बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताए । कुपिण्डे नगरपालिकाका नवीन पुनले मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घट्ने चिन्ता हुन थालेको बनगाडले बताए । ‘ गोडमेल गर्ने वेलामा पानी नपर्दा मकैको बोट सुक्न थालेको छ’, उनले भने ।


छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउँछन्। ‘रोपाइँ गर्ने वेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको, पानी पर्ने छाँटकाँट छैन’, उनले भने । खोलाका मुहानतिर खेत भएका केहीले रोपाइँ गरे पनि अन्यले आकाशे पानी पर्खेर बसेको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

९ असार २०७९, बिहीबार १४:०४
काठमाण्डौ : भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको ज्यान गएको छ । तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगको अपिल गरेको हो । तालीबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलमा रहेको युनिसेफ कार्यालयलाई उद्धृत गरी बीबीसीले […]

सम्बन्धित