नेपालगञ्ज : रासायनिक मल नपाउँदा बाँकेका किसान चिन्तित भएका छन् । धानको बीउमा हाल्नका लागि नै मल अभाव भएपछि किसान चिन्तित भएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका– १८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउँछन् ।
ब्याडमा हाल्ने रासायनिक मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन् । उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् ।
बीउमा हाल्ने मल नपाएपछि यहाँका किसान भारतीय बजार धाउन बाध्य भएको डुडुवा गाउँपालिका–६ का कृषकहरुले बताएका छन् । मुख्य बाली धानको ब्याडमा मल हाल्न नपाउँदा किसान चिन्तित बनेका उनको भनाइ छ ।
कृषि सामग्री कम्पनीमार्फत किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आउन सकेको छैन । बाँकेमा धान खेतीका लागि एक हजार २०० मेट्रिक टन डिएपी, तीन हजार मेटिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ । न्यून परिमाणमा मात्र मल प्राप्त भएको कार्यालय प्रमुख रमेश पौडेलले बताए ।
हाल ३३५ टन डिएपी मल प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको र सोहीअनुसार आउने क्रममा रहेको उनले बताए ।
युरिया तथा पोटास धान रोपाइँको समयमा आउने प्रदेश कार्यालयले जनाएको छ । कार्यालयले बाँकेका १०७ सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ ।