नेपालगञ्ज : आगामी मंसिर ४ गते नेपालगञ्जमा आयोजना गरिने नेपालगञ्ज म्याराथनको अगुवाको विश्व साइकल यात्री पुष्कर शाहले साइकलबाट स्कटिङ गर्ने भएका छन् । नेपालगञ्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगञ्ज साइक्लिङ क्लवले स्कटिङ गर्दै आएको थियो ।
आयोजक क्रियटिभ ह्याण्डस्ले पर्यावरणतर्फ ध्यान दिदै म्याराथनको धावकको साइकलबाट स्कटिङ गराउदै आएकोमा यसवर्षको ईभेन्टसमा विश्व साईकल यात्री शाहलाई अनुबन्ध गरिएको क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । गतवर्षको म्याराथन विजेता गोपीचन्द्र पार्कीको साइकलयात्री यमलाल रसाइलीले स्कटिङ गरेका थिए ।
अध्यक्ष ठकुरीले विश्व साइकलयात्री शाहले नेपालगञ्ज म्याराथनका धावकको स्कटिङ गर्ने कुराले आयोजकलाई थप हौसला बढेको बताए । नेपालगञ्ज म्याराथनमा देशका चर्चित धावकहरु दौडिने गर्दछन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागी हुने गरेका छन् ।
फूल म्याराथन (पुरुष) र हाफ म्याराथन (महिला) मा देशकै चर्चित धावकहरु दौडिदा १० किलोमिटर, ५ किलोमिटरमा लामो दौडको अभ्यास गरि रहेकाहरु दौडिने गर्दछन् । कर्पोरेट रन र वाकाथनमा शहरका गन्यमान्य व्यक्तित्वहरुको सहभागिता रहदै आएका क्रियटिभ ह्याण्डस्का अध्यक्ष ठकुरीले बताए ।
उनले म्याराथन केवल दौडमात्रै नभएर यो खेलको माध्यामबाट शहर चिनाउने अभियान भएको दाबी गरे । उनले यसपाली नेपालगञ्जको सुर्खेतरोडमा सात हजार मानिसलाई दौडाउने तयारी भएको जानकारी दिए । यसपटकको नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने तय भइसकेको छ ।
यसपालीको म्याराथनमा महानायक राजेश हमालसमेत दौडिने भएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष मंसीरको पहिलो हप्ताको शनिबार नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए । नेपालगञ्ज म्याराथनको छैठौ संस्करणलाई टोकियो ओलम्पिक छनौटको रुपमा लिइएको थियो ।