नेपालगञ्ज : एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबारको खेलमा लुम्बिनी प्रदेशको धम्बोझी युवा क्लव नेपालगञ्ज र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङले जित हासिल गरेका छन । यो जित संगै दुबैले ९–९ अंक बटुलेका छन् ।
बुधबार नेपालगञ्ज रंगशालामा भएको पहिलो खेलमा त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० ले पाखा लगाउदै जित हासिल ग¥यो भने दोस्रो खेलमा धम्बोझी क्लवले धादिङ समाज धादिङलाई २–१ गोल अन्तरले बिजयी भएको हो ।
बुधबारको पहिलो खेलमा त्रिवेणी क्लवको जितमा लक्ष्मण रुचालले ६१औं मिनेटमा र बिमल रानाले ७८औं मिनेटमा गोल गरे भने सैनिकका तर्फबाट गोल हुन सकेन । खेलमा त्रिवेणीका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए । उनलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले पुरस्कृत गरेका थिए ।
यो जितसँगै त्रिवेणीले ४ खेल खेल्दै ३ खेलमा जित निकालेर ९ अंक जोडेको छ । शिर्ष स्थानको स्टार सिटी युवा क्लब कैलाली भन्दा त्रिवेणी १ अंकले मात्र पछि परेको छ । यसैगरी सैनिक फुटबल क्लबले ४ खेल खेल्दै १ जित र १ बराबरी गरेर ४ अंक जोडेको छ भने २ खेलमा हारको सामना गरेको छ ।
यसैगरी दोसो खेलमा घरेलु मैदानको फाईदा उठाउदै धादिङ्ग समाजलाई २–१ ले किनारा लगाउदै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । धम्बोझीको जितमा बुधबार निशान लिम्बुले दुबै गोल गरेका थिए । खेलको दुइ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाएका निशानले ६१औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे ।
धादिङको तर्फबाट विजय भुजेलले १६औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच धम्बोझीका निशान लिम्बु घोषित भए उनलाई खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष जयनारायण शाहले पुरस्कृत गरेका थिए । यो जित संगै धम्बोझीले ९ अंक र धादिङ्गले ७ अंक बटुलेको छ ।
चैतको १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।