नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब र बाग्मती प्रदेशको धादिङ समाज धादिङ एन्फा प्रेसिडेन्ट लिग फुटबलको शनिबार भएको खेलमा विजयी भएका छन् ।
नेपालगञ्ज रंगशालामा भएको पहिलो खेलमा सुदूरपश्चिमको स्टार सिटीले लुम्बिनी प्रदेशको धम्बोझीलाई ३–१ ले पराजित गर्दा बाग्मती प्रदेशको धादिङ समाज धादिङले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पाखा लगाउदै जीत आफ्नो पक्षमा पारेको छ ।
यो जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । स्टारले लगातार तीन खेल खेल्दै ९ अंक जोडन सफल भएको छ । शनिबार स्टारको जितमा टोपबहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । स्टारका लागि रुपबहादुर लामाले ४१औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६औं मिनेटमा गोल गरेका थिए ।
धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । घरेलु मैदानमा खेलेको धम्बोझीले फाईदा उठाउन सकेन । खेलमा सुरुदेखिनै दवावमा रहेको थियो । खेलमा स्टार सिटीका रुपबहादुर लामा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले पुरस्कृत गरेका थिए ।
शनिबार भएको दोस्रो खेलमा धादिङको जितमा शिशिर लेखीले २५औं मिनेट, विजय भुजेलले ६८औं र कप्तान रबि भण्डारीले ८७औं मिनेटमा गोल गरेका थिए । खेलमा धादिङका शिशिर लेखी म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुरस्कृत गरेका थिए ।